प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

गलेश्वर । म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई)मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसइई परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो । मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई रु १५ हजार बराबरको प्याड खरीद गर्न चेक हस्तान्तरण गरेका छन् ।

मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महीनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताए । एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ । म्याग्दीमा दुई हजार २४२ विद्यार्थी सहभागी हुने परीक्षामा एक हजार १११ छात्रा रहेका छन् ।सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीलाई रु १५ हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप