काठमाडाैं । काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ ।
जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओली र सुवास भट्टले लेखेका छन्। भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ ।
बढ्दो जनसंख्या र तीव्र रूपमा विस्तार भएको सहरीकरणले पनि भूमिगत सतहबाट पानी दोहन भइरहेको छ । आवास भवन, उद्योग, कलकारखाना, सडकलगायत भौतिक संरचना वातावरणमैत्री नहुँदा जमिनमुनि रिचार्ज हुन समस्या भइरहेको भूमिगत जलस्रोत विकास समितिको भनाइ छ । काठमाडौं उपत्यकामा जमिनमुनिको पानीको दोहन अत्यधिक भए पनि उपत्यकाबाहिर भने त्यस्तो समस्या देखिएको छैन । ‘हामीले उपत्यकाबाहिरका केही ठाउँमा डिप ट्युबवेल राखेर जमिनमुनि पानीको अध्ययन गरिरहेका छौँ,’ पोखरेलले भने, ‘तर, उपत्यकाबाहिरका कुनै पनि ठाउँमा जमिनमुनि पानीको सतह घटेको छैन ।’
उपत्यकाबाहिर जमिनमुनि पानी रिचार्ज हुँदा उल्टै भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रमा राहत पुग्ने गरेको पोखरेलको भनाइ छ । भूमिगत जलस्रोत विकास समितिले ०६६ पुस महिनादेखि उपत्यकाका विभिन्न २० क्षेत्रमा डिप ट्युबवेल राखेर अध्ययन सुरु गरेको थियो । आवश्यकताअनुसार डिप ट्युबवेल थप्दै गएपछि अहिले २९ क्षेत्रमा राखेर जमिनमुनि पानीको अध्ययन भइरहेको छ ।
उत्तरी खण्डको शिवपुरी, गोकर्ण, टोखा, मूलपानी, सुन्दरीजल, साँखुलगायत क्षेत्रबाट धेरै पानी रिचार्ज हुने गरेको छ । दक्षिण खण्डको गोदावरी, लेले, टीकाभैरव, हरिसिद्धिलगायत क्षेत्रबाट रिचार्ज हुने गरेको विज्ञहरूको भनाइ छ । जनसंख्याको धेरै चाप हुने बीचखण्ड अर्थात् चक्रपथभित्र पर्ने जमिनमुनिबाट धेरै पानी निकालिने गरेको छ । भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोस्ट महेश पोखरेल उपत्यकामा ट्युबवेल, डिपबोरिङ र इनारबाट जथाभावी पानी निकाल्न थालेपछि जमिनमुनिको पानी सतह घट्दै गएको बताउँछन् ।
पानीको सतह गहिरिँदै जाँदा सय–दुई सय वर्ष पुराना ढुंगेधारा, इनार, पोखरीसमेत सुकेका छन् । ‘जमिनमुनि पानी रिचार्ज हुने र निकाल्ने सन्तुलन नहुँदा उपत्यका भासिन सक्ने खतरा छ,’ पोखरेलले भने, ‘तर, तत्काल त्यस्तो कुनै संकेत देखिएको छैन।’ भौगोलिक रूपमा उपत्यकाको भूबनावट फरक–फरक प्रकृतिबाट बनेकाले सबै ठाउँबाट पानी रिचार्ज नहुने पोखरेलको भनाइ छ ।
‘उपत्यकालाई पानी रिचार्ज हुने क्षेत्रलाई तीन खण्डमा विभाजन गरिएको छ । उत्तरी गेग्य्रान ढुंगा माटोसहितको खण्ड, बीच कालो लिसो माटो करिब दुई सय मिटरसहितको खण्ड र दक्षिण कुनै कालो माटो, कुनै गेग्य्रानसहितको खण्ड छ,’ पोखरेलले भने, ‘सबैभन्दा धेरै उत्तरी खण्ड र दक्षिण खण्डका गेग्य्रान भूभागबाट रिचार्ज हुन्छ भने बीचखण्डबाट रिचार्ज नै हुँदैन ।’
पानी धेरै निकाल्दा इरानको तेहरान भासियो
तेहरान इरानको राजधानी सहर हो । यहाँको जनसंख्या ८० लाखभन्दा बढी छ । विगत चार दशकमा इरानले आत्मनिर्भर हुने नाममा कृषिमा ठूलो लगानी ग(यो । त्यसका लागि ठूलो मात्रामा पानी निकालियो । अत्यधिक दोहनका कारण जमिनमुनि पानीको भण्डारण रित्तिँदै गयो । तेहरानमा पानीको उपभोग अत्यधिक हुने गरेको सञ्चारमाध्यमहरूले जनाउँदै आएका छन् ।
जमिनमुनि पानी रित्तिँदै गएपछि सन् २००३ देखि २०१७ सम्म प्रतिवर्ष २५ सेन्टिमिटरका दरले तेहरानका तीन क्षेत्र भासिएका छन् । सन् १९८४ देखि २०११ को अवधिमा भूमिगत पानीको तह १२ मिटरले तल पुगेको छ । यदि पानीको प्रयोग यही अनुपातमा रहे इरानको पूर्वी र दक्षिणी क्षेत्र पूर्ण रूपमा मरुभूमि बन्नेछन् । तेहरानमा ५० वर्षयता ३० प्रतिशत भूमिगत पानी उपभोग भइसकेको छ । सो परिमाणको पानी रिचार्ज हुन सयौँ वर्ष लाग्छ । तेहरान सहरका केही क्षेत्र सुक्खा हुँदै जाँदा ठुल्ठूला धाँजा फाट्न थालेका छन् ।




