तनहुँ जलविद्युत आयोजनाको ठेक्का रद्द, नयाँ प्रक्रिया सुरु

काठमाडौं। तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने र बाँध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि  इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले ४ माघ २०७५ (१८ जनवरी २०१९)मा ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो।

७ फागुन २०७५ (१९ फेब्रुअरी २०१९)मा  ठेक्का तोड्नका लागि सूचना दिइएकोमा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले २२ फागुन २०७५ (६मार्च २०१९)मा ठेक्का सम्झौता रद्द गरिएको जानकारी सिएमएसीलाई गराएको छ।

रद्द गर्नुपर्ने कारणहरुमा खरिद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीयरुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेकोलगायतका रहेको कम्पनीका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए।

तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच १५ असोज २०७५ (१ अक्टोवर २०१८)मा २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) रुपैयाँमा खरिद सम्झौता भएको थियो।

तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानत वापत राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँसमेत जफतको लागि दावी गरेको छ। साथै सिएमसीकातर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले यही हप्ताभित्रमा दावी रकम भुक्तानी गर्ने लिखित प्रतिवद्धता जनाएको छ।

सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी सुरु गरिएको छ। अहिले नयाँ टेण्डर आव्हान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ। कम्पनीले चैतको दोस्रो हप्ता (मार्च २०१९)भित्रमा नयाँ बोलपत्र आव्हान गर्ने लक्ष्यका साथ काम अघि बढाइएको जनाएको छ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम  गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री