काठमाडौं । केही दिनयता ग्यास बिक्री रोकेर आन्दोलनमा उत्रिएका ग्यास उद्योगीले आयल निगमसँग ३ बुँदे सहमति भएपछि आन्दोलन स्थगन गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकमा निगम सञ्चालक समितिले गठन गरेको समितिले उद्योगीका माग अध्ययन गरी १५ दिनमा सुझाब प्रतिवेदन पेस गर्ने सहमति भयो ।
एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न मन्त्रालयले उच्चस्तरीय समिति गठन गर्नेसमेत सहमति भएको छ । योसँगै, उद्योगीले मंगलबारदेखि नै आन्दोलन स्थगन गरी खरिद-बिक्री सुचारु गर्ने सहमति भएको हो ।
मन्त्रालयमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसमेत बैठकमा उपस्थित थिए ।
प्रतिकृया दिनुहॊस