काठमाडौं। एशियन लाईफ इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको हकप्रदका लागि शेयर किन्ने मंगलवार अन्तिम दिन रहेको छ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका फागुन २२ गतेदेखि बन्द गर्ने भएको छ ।
फागुन २१ गतेसम्म कम्पनीको शेयर किन्ने शेयरधनीहरूले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट माघ २७ गते स्वीकृति पाएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ६(१ः०.६५) अनुपातमा रू. १ सय अंकित दरको ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
चालू आवको दोस्रो त्रैमासकको वित्तीय विवरण अनुसार कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड रहेको छ । जगेडा कोषमा रू. २६ करोड ३४ लाख रहेको छ । कम्पनीले रू. २ करोड ८९ लाख खुद नाफा कमाएको छ । साथै, प्रति शेयर आम्दानी रू. ४ दशमलव ६९ रहेको छ । हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुग्नेछ ।




