तेलको मूल्य बढ्यो

लन्डन । विश्वबजारमा सोमवार कच्चा तेलको मूल्य बढेको छ । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन ओपेकको उत्पादनमा कटौती तथा अमेरिका–चीन व्यापारवार्ता सम्झौतानजीक पुगेको प्रतिवेदनसँगै तेलको मूल्य बढेको हो ।

सोमवार यो समाचार तयार पार्दासम्म बेलुका ८ बजे ब्रेन्ट क्रुडको मूल्य अघिल्लो दिनको तुलनामा ८२ सेन्ट बढेर प्रतिब्यारेल ६५ डलर ८९ सेन्टमा पुगेको थियो । साथै, यूएस क्रुडको मूल्य पनि ७३ सेन्ट बढेर ५६ डलर ५३ सेन्टमा पुगेको थियो । यसअघि अमेरिका र चीन व्यापारवार्ताको निकै नजीक पुगेको समाचार सार्वजनिक भएको थियो । ओपेकले पछिल्लो २ महीनादेखि उत्पादनमा कटौती गर्दै आएकाले पनि तेलको मूल्यलाई टेवा मिलेको हो ।

गत फेब्रुअरीमा ओपेकको तेल आपूर्ति ४ वर्षकै कमजोर अवस्थामा पुगेको एक सर्वेक्षणले देखाएको थियो । अमेरिकाको तेल उत्पादनको वृद्धि आगामी दिनमा सुस्ताउने अनुमान छ । विश्लेषकहरूले पनि तेलको मूल्य अझै बढ्न सक्ने बताएका छन् । तर, कमजोर मागले भने तेलको मूल्यमा अंकुश लगाउन सक्ने उनीहरूको भनाइ छ । एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री