तनहुँ । तनहुँमा यस वर्ष २७ करोड ७५ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको छ । कृषि ज्ञान केन्द्र तनहुँको अनुसार उक्त सुन्तला बिक्री भएको हो ।
गत वर्षको तुलनामा १ करोड १० लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । गत वर्ष २६ करोड ६५ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको ज्ञान केन्द्रले जनाएको छ । सुन्तलाका लागि यस वर्ष वातावरण अनुकूल भएपछि सुन्तला उत्पादनमा समेत वृद्धि भएको केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले बताए ।
उनका अनुसार किसानमा सचेतना, मल बीउको सहज उपलब्धता, समयमै गोडमेल गरेका कारणले सुन्तला उत्पादनमा वृद्धि भएको हो ।
जिल्लामा ६ हजार ९३८ मेट्रिक टन सुन्तला बिक्री भएको छ भने गत वर्ष ६ हजार ५४६ मेट्रिक टन सुन्तला बिक्री भएको थियो । किसानले बगानबाटै प्रतिकिलो औसत ४० रुपैयाँको दरले सुन्तला बिक्री भएका छन् । जिल्लामा यस वर्ष १ हजार ४७७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको केन्द्रले जनाएको छ ।
जिल्लाको आबुखैरेनी, बन्दीपुर, जामुने, पुर्कोट, देउराली, वैदी, छिपछिपे, नाम्सीकोट, भानुमति, तनहुँसुर, बेनीकोट सुन्तला उत्पादनका लागि पकेट क्षेत्र हुन् । जिल्लामा उत्पादित सुन्तला काठमाडौं, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।




