काठमाडौं । नेपाली सेनाले भूपू सैनिक र बहालवाला सैनिकका परिवारलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ। सैनिक एन २०६३ बमोजिम स्थापना भएको कल्याणकारी कोषले शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिकका सन्तानलाई शैक्षिक कर्जा दिने नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए।
इन्जिनियरिङ, सूचनाप्रविधि, चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान र वन विज्ञान संकायमा स्नातक तह वा सोभन्दा माथिल्लो तहमा अध्ययनका लागि वार्षिक पाँच प्रतिशत ब्याजदरमा पाँच लाखदेखि २५ लाखसम्म ऋण उपलब्ध गराउने ढकालले बताए। उक्त रकम प्रभु बैंकमार्फत दिइने छ। पाँच लाख ऋण लिन सम्बन्धित अभिभावकको व्यक्तिगत जमानी र सो रकमभन्दा माथिको हकमा सम्बन्धित बैंकलाई मान्य हुने धितो सुरक्षण उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको सेनाले जनाएको छ। सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५ फागुन २० गतेदेखि दिइनेछ।




