अन्सारीलाई योग्य देखाउन यसरी हुँदैछ नेकपामा चलखेल

काठमाडाैं । मुस्लिम आयोग अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ।

संसदीय सुनुवाइ समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ। निर्वाचन आयोगले अन्सारी नेकपाको समानुपातिक सूचीमा रहेको र पार्टीको केन्द्रीय सदस्य भएको जानकारी समितिलाई पठाएको छ। यो खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन्।

अन्सारीले भने मंगलबार समितिसमक्ष आफूले पार्टीलाई बन्द सूचीबाट नाम हटाउन अनुरोध गरेको निवेदन र त्यसैअनुसार पार्टीले बन्द सूचीबाट हटाएको भनी लेखिदिएको बेहोरासहितको पत्र बुझाएका छन्। उनले २०७५ साल माघ ४ गतेको मितिमा समानुपातिकको बन्द सूचीबाट नाम हटाइदिन भन्दै नेकपाका अध्यक्षलाई लेखेको पत्र समितिमा बुझाएका हुन्। यो पत्र सोमबारसम्म कहीं कतै देखिएको थिएन।

यसै पत्रलाई आधार बनाउँदै फागुन १० गते सम्पन्न नेकपा केन्द्रीय सचिवालयको बैठकले अन्सारीको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको पत्र पनि तयार पारेको छ।

महासचिव विष्णुप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा समानुपातिकतर्फ बन्द सूचीमा रहेका मुस्लिम कलस्टरका समिम मियाँ अन्सारीको नाम प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ३० ९१० बमोजिम उक्त बन्द सूचीबाट हटाउने निर्णय गरियो र निर्वाचन आयोगलाई पनि नाम बन्द सूचीबाट हटाउन अनुरोध गर्ने निर्णय गरियो भन्ने उल्लेख छ।

तर फागुनको १० गते निर्वाचन आयोगले संसदीय सुनुवाइ समितिमा पठाएको पत्रमा अन्सारी नेकपा केन्द्रीय कार्यसमितिको सदस्य भएको र नेकपाको समानुपातिकतर्फको बन्द सूचीमा उनको नाम रहेको उल्लेख छ। अन्सारीको नाम समानुपातिक बन्द सूचीमा हटाउन आग्रह गर्दै नेकपाले फागुन १३ (सोमबार) मा निर्वाचन आयोगलाई लेखेको पत्र पनि बाहिर ल्याइएको छ।

अन्सारीले भारतको पटनाबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरे पनि प्रमाणपत्र तह र एसएलसीको प्रमाणपत्रको विषय गुपचुप राखिएको छ। संवैधानिक परिषद्को सिफारिससम्बन्धी पत्र आएपछि संसदीय सुनुवाइ समितिले उजुरी माग गरी १० दिनको सूचना प्रकाशित गरेको थियो। विभिन्न आयोगका लागि संवैधानिक परिषद्मा सिफारिस भएका पाँच प्रस्तावित अध्यक्षमध्ये अन्सारीमाथि नागरिकता र शैक्षिक योग्यताका साथै नेकपाको सक्रिय कार्यकर्ता भएको भन्दै उजुरी परेको थियो।

उजुरी परेपछि सुनुवाइ समितिले छानबिन थालेको छ। वित्त आयोग अध्यक्षमा प्रस्तावित बालानन्द पौडेल र समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीमाथि फागुन ७ गते सुनुवाइ गरेपछि समितिको बैठक बसेको छैन। दुईपटक कोरम नपुगेर बैठक स्थगित भएको छ। जिल्ला प्रशासन कार्यालयबाट समितिमा प्राप्त विवरणअनुसार अन्सारीले २०५५ पुस २२ गते नागरिकता लिएका छन् तर त्यति बेलाको अभिलेखमा उनको जन्ममिति नपाइएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए।

अन्सारीले २०६६ भदौ ९ गते नागरिकताको प्रतिलिपि लिएका छन्। प्रतिलिपिमा उनको जन्ममिति २०३० भदौ २४ गते उल्लेख छ। पछिल्लो अभिलेखमा जन्ममिति २०३७ साल असोज २४ गते उल्लेख छ। अब समितिले के गर्छ भन्ने विषयमा समितिका सदस्यले केही बोल्न चाहेका छैनन्। स्रोतका अनुसार उनको नाम अनुमोदन गर्ने तयारी समितिको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कडा सुरक्षा घेराबीच रविको दाेस्राे दिनको बयान

काठमाडौं । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी …

प्रतिकृया दिनुहॊस