सरकारले खोल्यो पानी जहाज कार्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाण्डौ । नेपालमा पानीजहाज आउने र नेपालको झण्डा भएको पानीजहाज समुद्रमा चल्ने टुंगो नभए पनि पानीजहाजको कार्यालय भने खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहने कार्यालयमा सहसचिव नेतृत्वमा १६ कर्मचारीको दरबन्दी छ । पानीजहाज चलाउनु पहिले आवश्यक गृहकार्य गर्नुपर्ने भएकाले कार्यालय स्थापना र कर्मचारी खटाउने काम भएको सरकारको भनाई छ ।

मन्त्रिपरिषदको पुस ३० गते बसेको बैठकले पानीजहाज कार्यालय खोल्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो । पानीजहाज कार्यालयमा रहने कर्मचारीको नाम भनेअझै तय भएको छैन । पानीजहाज सञ्चालनबारे योजना बनाउन संलग्न जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेका अनुसार भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगानदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको छ । नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर योजना बनाइरहेको छ ।

भारतले आफ्नो सीमाभित्रमा एक वर्षमा पूर्वाधार बनाउने र नेपालले त्यसकै सहयोगले पानीजहाज चलाउने सरकारको योजना छ । गंगा नदीबाट नारायणी नदी हुँदै नेपालसम्म आईपुग्ने गरी पानीजहाज चलाउने तयारी हो । यो पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्मनै ल्याउन सकिने अध्ययन टोलीको ठहर छ । ३ मिटर गहिराई र ६० मिटर चौडाईको नदीमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानीजहाज सञ्चालन गर्न सकिने र पाँच सय टन क्षमताका पानीजहाज नेपाल आउनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

अहिले कार्यलय राख्ने, कर्मचारी खटाउने, आवश्यक गृहकार्य गर्ने सहितको कामको प्रक्रिया अगाडि बढाउनको लागि कार्यालयको स्थापना गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका राष्ट्रिय झण्डासहितका पानीजहाज महासागरमा चलाउने बताएका थिए। दोस्रो पटक प्रधानमन्त्री भएपछि उनले यही २०७५ को पुष १६ गते भित्र पानीजहाज सञ्चालन भइसक्ने दावी गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री