काठमाडौं । यूएई र ओमनले पनि शून्य लागतमा नेपाली कामदार लैजाने सकारात्मक आश्वासन दिएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिनिधिमण्डलसँग दुवै देशका अधिकारीले सकारात्मक धारणा व्यक्त गरेका हुन्। मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको टोलीले दुवै देशसँग पहिलो चरणको वार्ता सकेर फर्किएको छ।
नेपाली टोलीले जनवरी २७ र २८ मा ओमन तथा ३० र ३१ मा यूएई पुगेर छलफल गरेको हो। दुवै देशलाई नेपालले शून्य लागतमा कामदार लैजानुपर्ने, भर्ना प्रक्रिया पारदर्शी, जिम्मेवार र जवाफदेही बनाउन पर्ने, न्युनतम तलव सुविधाको प्रत्याभूति गर्नुपर्ने अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य मान्यता एवं मापदण्ड अनुसारको व्यवसायिक श्रमिकको हक हित, व्यावसायिक स्वास्थ्य एवं सुरक्षा र असल कार्यवातावरण सुनिश्चित हुनुपर्ने प्रस्ताव गरेको थियो।
यस्तै ओभरटाइम, कार्यस्थल बाहेकको समयमा हुने दुर्घटनाको पनि बिमा हुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना भएमा विदा दिनुपर्ने, महिला कामदारको हकमा विशेष व्यवस्था गर्नुपर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा कुनै पनि खालको सिण्डिकेट हुन नहुने जस्ता शर्त श्रम समझदारीमै उल्लेख गर्नुपर्नेमा नेपाली पक्षले जोड दिएको छ।




