नाग्म गमगढी राजमार्ग बन्द, डोजरले हिउँ पन्छाउँदा पनि खुलेन सडक

खलङ्गा । यस वर्ष परेको तेस्रो पटकको हिमपातले जुम्लादेखि मुगुको गमगढीसम्म जाने सडक एक सातादेखि अवरुद्ध भएको छ । सडकमै बाक्लो हिउँ थुप्रिएका कारण सडक अवरुद्ध छ । यातायात चल्न सकेको छैन । सडक डिभिजन कार्यालयले डोजरको प्रयोग गरी हिउँ पन्छाउँदै छ । सडक डिभिजन कार्यालय जुम्लाले चार दिनदेखि बाटो खुलाउन डोजर प्रयोग गरेको इन्जिनियर श्रवणकुमार महताराले जानकारी दिए । उनका अनुसार बाक्लो हिमपात भएपछि सडक बन्द भएकाले खुलाउन डोजर नै प्रयोग गर्नुपरेको हो । सडकको कतिपय खण्डमा अझै झन्डै दुई फिट हिउँ थुप्रिएको छ ।

यसैगरी हिउँ पञ्छाउँदै बाटो खुलाउन सडक डिभिजन कार्यालयको डोजरले नाग्म गमगढी राजमार्गको हिउँ पञ्छाइरहेको छ । हिमपात भइरहने र रोकिने कारणले डोजरले पनि हिउँ पन्छाउन सजिलो छैन । पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले असजिलो भएको हो । यसैगरी हिमपातका कारण बाटो अवरुद्ध भएपछि यात्रुहरू मुगु र जुम्लामा रोकिएका छन् । जुम्लाबाट मुगु गएका तेजेन्द्र हितानले बाटो अवरुद्ध हँुदा मुगुमै एक साता बस्नुपरेको वाध्यता सुनाए। अहिले हिउँले बाटो रोकिएपछि नाग्म गमगढी राजमार्ग बन्द भएको छ । पैदलमार्गमा खासै सुविधायुक्त होटलहरूसमेत व्यवस्था नभएका कारण पैदलयात्रुहरूलाई पनि कठिन भएको छ । मुगुबाट जुम्ला आउन पैदलयात्रीलाई झन्डै चार दिन लाग्छ ।

सिङ्जाको गुठिज्युला भुलभुले घुच्चिलेकदेखि पिनासम्मको करिब ३० किलोमिटर हिउँले ढाकिएको छ । आइतबार डोजरले भुलभुले क्रस गर्ने सम्भावना छ । अर्कोतिर नाग्म –गमगढी सडक खण्डमा हिउँ पग्लेको स्थानमा पनि सडक हिलाम्मे भएको छ । यसैगरी एक सातासम्म सडक अवरुद्ध भएकाले मुगुमा दैनिक उपभोग्य वस्तुहरूसमेत अभाव हुन थालेको ब्यापारीको भनाइ छ ।

सडक क्षेत्रमा जथाभावी पानी र हिउँले भासिने भएकाले समेत धेरै स्थानमा समस्या भएको छ । हिउँले पुरिएको सडकमा तलमाथि बलियो पर्खाल नभएका कारण विभिन्न स्थानमा पानी तथा हिउँ जम्ने समस्या समाधान गर्नेगरी सडक बिस्तार हुनुपर्नेमा यात्रुहरू तथा सवारी चालकहरू बताउँछन् । यो मार्ग हुँदै रारा जाने पर्यटकहरू समेत हिमपातका कारण प्रभावित छन् । जनप्रतिनिधिहरूले भने सडकको पानी निकाससहित गुणस्तर कायम नहुँदा हिउँ पन्छाउन पनि समस्या भएको बताउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस