बागलुङ । बिरामी परेको बेला अस्पतालसम्म पुग्नसमेत सडकका कारण समस्या भएकाले गाउँमा सडक प्राथमिकतामा पार्न थालिएकोे छ। बागलुङ जिल्लाको तमानखोलाका वासिन्दाले सडक निर्माण गर्न स्थानीय सरकारसँग पटक–पटक आग्रह गर्दै आएका छन्।
गत वर्ष समयमै स्वास्थ्य संस्था पुर्याउन नसक्दा नर्जाखानीका दुईको बाटोमै मृत्यु भयो। केहीलाई हेलिकोप्टरमा काठमाडाैं पुर्याएर बचाइयो तर उपचार नै नपाएर मर्नेको सङ्ख्या कति छ भन्नेबारे कुनै पनि निकायमा अभिलेख छैन। उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या धेरै भए पनि यस विषयमा अध्ययन नभएको तमानखोला गाउँपालिका–६ का अध्यक्ष कुलबहादुर छन्त्याल बताउँछन्।
तमानखोलाका गाउँबाट बुर्तिबाङस्थित स्वस्थ्य केन्द्र पुग्नका लागि सडक नभएका कारण एक दिन हिँडनु पर्ने भएकाले बिरामी समयमै स्वास्थ्य संस्था पुग्न सक्दैनन्।
यहाँका गाउँगाउँमा सडक पुर्याउने लक्ष्य भए पनि गाउँपालिकाको सानो खर्चले मात्रै त्यो सम्भव नभएकाले प्रदेश सरकार र केन्द्रसँग माग गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको भनाइ छ।
अघिल्लो वर्षदेखि खुङ्खानी हुँदै नर्जाखानी जाने सडकको ट्र्याक खोल्ने काम शुरु भएको छ। चालू वर्षका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत रु ५० लाख विनियोजन गरिएको छ। उक्त रकमले ट्र्याक खोल्ने अभियानलाई सहयोग पुग्नेछ तर नर्जाखानीसम्म पुर्याउन करोर्डौँ रकम आवश्यक पर्ने वडाध्यक्ष छन्तयाल बताउँछन्।
“तमानखोला गाउ“पालिका जिल्लाको सबैभन्दा टाढा र दुर्गम गाउँपालिका भएपनि सबै ग्रामीण बासिन्दालाई आगामी चार वर्षभित्र गाडी चढेर मुकाम झर्ने व्यवस्था गर्दैछौँ”, अध्यक्ष बुढा भन्छन्, “सम्भव हुने सबै क्षेत्रको बजेट सङ्कलन र परिचालन गरिनेछ।” सडक सम्भवै नहुने अवस्था भएका केही गाउ“मा भने सहज पदमार्ग बनाउने गाउँपालिकाको योजना छ। विद्यालय र स्वास्थ्यचौकीसम्म पुग्न सडक बनाउने र ग्रामीण बस्तीमा पदमार्गबाट लैजाने गरी ट्रेकिङ एजेन्सी एशोसिएसन (टान)को सहयोगमा काम गर्ने उनी जोड दिन्छन्।
अहिलेसम्म बुङ्गादोभानदेखि खुङ्खानीसम्मको १० किमी सडकको ट्र्याक खुलिसकेको छ। बुङ्गादोभानदेखि तमान जोड्ने १२ किमी सडकको ट्र्याक र देउरालीदेखि सोलडाँडा जोड्ने १० किमी सडक बन्दै छ। सोलेबाट म्याग्दीको दरवाङ भएर बेनी पुग्दा यहा“का बासिन्दालाई दैनिक उपभोग्य बस्तु खरीदका लागि पनि सहज हुन्छ।
प्रतिकृया दिनुहॊस