स्थानीय तहमा विपद् व्यवस्थापन समिति बनाइँदै

काभ्रेपलाञ्चोक । प्राकृतिक प्रकोपबाट प्रभावित हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि आवश्यक रणनीति तर्जुमा गर्ने उद्देश्यले स्थानीय तह अहिले विपद् व्यवस्थापन समितिको निर्माणमा जुटेका छन् ।

यसका लागि वडास्तरदेखिनै विपद् व्यवस्थापन समिति बनाउन थालिएको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले बताए । उनले भने, “कार्यविधि बनाएर वडास्तरमा विपद् व्यवस्थापन समिति बनाइरहेका छौँ, वडामा सकेपछि नगरपालिकास्तरीय बनाउने योजनामा छौँ ।” यसका लागि छुट्टै कोष निर्माण गरेको नगर प्रमुख न्यौपानेले बताए ।

पाँचखाल नगरपालिकाले विपद् व्यवस्थापन कोष बनाएर रु ३३ लाख जम्मा गरेको छ । यस क्षेत्रमा आगलागी प्रमुख चुनौती भएकाले नपाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरीद गर्ने निर्णय गरिसकेको छ । नगरप्रमुख महेश खरेलले भने,  “वडास्तरमा पनि विपद् व्यवस्थापन समिति बनाउने तयारीमा छौँ ।”

धुलिखेल नपाका सबै वडामा विपद् व्यवस्थापन समिति बनिसकेका छन् । आगलागी प्रमुख समस्या बनेको नमोबुद्ध नपामा हाललाई निश्चित बजेट छुट्याइ विपद् व्यवस्थापन समिति बनाइएको नगरप्रमुख टङ्कप्रसाद शर्माले जानकारी दिए ।

 खानीखोला गाउँपालिकाले रु १० लाख र रोशी गाउँपालिकाले रु २४ लाख बजेट विनियोजन गरी पालिकास्तरीय विपद् व्यवस्थापन समिति बनाएका छन् । खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले आफूहरु वडास्तरमा विपद् व्यवस्थापन समिति बनाउने तयारीमा जुटेको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप