काठमाडौँ । एम्नेस्टी इन्टरनेसनल जेनजेड अभियन्ता माजिद अन्सारीको निरन्तर स्वेच्छाचारी हिरासतप्रति एम्नेस्टी इन्टरनेसनलले गहिरो चिन्ता व्यक्त गरेकाे छ र अन्सारीको तत्काल र बिना शर्त रिहाइको माग गरेकाे छ ।
किर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका जबरजस्ती निष्कासनका पीडितहरूप्रति ऐक्यबद्धता व्यक्त गर्न गएका तीन जना अभियन्ताहरू माजिद अन्सारी, सरिष्मा थापा र नेल्सन घतानीलाई शनिबार हिरासतमा लिइएको थियो। शुक्रबार रातिको भीषण वर्षा पछि आएको बाढीबाट ती पीडितहरू गम्भीर रूपमा प्रभावित भएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रहरीहरूले तीनै जनालाई प्रहरीको गाडीमा राख्नुअघि उनीहरूमाथि गालीगलौज र कुटपिटसमेत गरी गैरकानुनी बल प्रयोग गरेको देखिन्छ जसबाट माजिद अन्सारीको अनुहारमा रगत लागेको र स्पष्ट चोटहरू देखिएका छन्।
स्वेच्छाचारी गिरफ्तारीमा लिइएका तिनजनामध्ये सरिष्मा थापा र नेल्सन घतानीलाई शनिबार राति नै रिहा गरिएको थियो। “जबरजस्ती निस्कासित भएका पीडितहरूप्रति ऐक्यबद्धता व्यक्त गरेकै कारणले अभियन्ताहरूलाई स्वेच्छारी रूपमा गिरफ्तार गरी हिरासतमा राखिएको घटनाबाट नेपालमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकार, तथा व्यक्तिगत स्वतन्त्रता र सुरक्षाको अधिकारको उल्लङ्घनसम्बन्धी गम्भीर चिन्ता पैदा गरेको छ र यसले नेपालमा नागरिक स्वतन्त्रतामाथि डरलाग्दो खतरा देखिएको सङ्केत गर्दछ,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने।
“वर्तमान सरकारका अधिकांश मन्त्रीहरू गत भाद्र २३ र २४ मा भएको जेनजेड विरोध प्रदर्शनको बलमा सत्तामा आएका हुन् र उनीहरूले जेनजेड विरोध प्रदर्शनको क्रममा भएको दमनका लागि कानून कार्यान्वयन गर्ने संयन्त्रलाई जवाफदेही बनाउने वाचा गर्दै विरोध गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रताका साथै प्रहरी दमनको विरुद्धमा जोडदार वकालत गरेका थिए। चार महिना भित्रै सरकारले आफ्ना प्रतिबद्धतालाई बिर्सनु र शान्तिपूर्ण रूपमा आफ्नो असहमति व्यक्त गर्ने युवा अभियानीहरूलाई गैरकानूनी रूपमा लक्षित गर्न पूर्ववर्ती सरकारकै दमनकारी रणनीतिलाई प्रयोग गर्नु दुःखद् कुरा हो।”
“राज्यले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारलाई दबाउनको निम्ति कानुन कार्यान्वयनलाई हतियारको रूपमा प्रयोग गर्न रोक्नुपर्छ र विमति जनाउन पाउने संवैधानिक अधिकारलाई पूर्ण रूपमा संरक्षण गर्नुपर्छ। अधिकारीहरूले माजिद अन्सारीको सुरक्षा, संरक्षण र उपयुक्त स्वास्थ्य हेरचाहमाथिको पहुँचलाई पनि सुनिश्चित गर्नुपर्छ र उनीमाथि धम्की, उत्पीडन वा थप दुर्व्यवहार नहुने कुराको प्रत्याभूति गर्नुपर्छ।”
उक्त पक्राउ जबरजस्ती निष्कासनका पीडितहरूका लागि सरकारले तोकेको होल्डिङ्ग सेन्टर राधास्वामी सत्संग सेन्टरमा ठूलो बाढी गएपछिको अवस्थामा भएको हो जसले ठूलो परिमाणको मानवअधिकार सङ्कट सिर्जित गर्ने गरी भएको हालसालैका गैरकानूनी जबरजस्ती निष्कासनबाट विस्थापित परिवारहरूलाई बसोबास गर्न तोकिएको सरकारी होल्डिंग सेन्टरकै असुरक्षित अवस्थालाई उजागर गरेको छ। यसअघि वैशाखमा जबरजस्ती निष्कासन अभियान सुरू गर्नुअघि प्रधानमन्त्रीले मनसुनको समयमा हुने बाढीबाट समुदायको सुरक्षा सुनिश्चित गर्न नदी किनारका बस्तीहरू खाली गरिएको र स्थानान्तरण गरिएको बताएका थिए।



