काठमाडौं ।भानु जयन्तीको अवसर पारेर मोडर्न कन्या मल्टिपल कलेजले विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ। शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि पूर्वमन्त्री निलाम्बर आचार्य र वरिष्ठ साहित्यकार रामप्रसाद दाहालले छात्रवृत्ति तथा पुरस्कार वितरण गर्नुका साथै शैक्षिक रूपमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्राहरूलाई सम्मान गरे। कल्पना बुढाथोकी, गङ्गा केसी, पिश्किला बस्नेत, प्रकृति दाहाल, पूजा लाकिछाने, सङ्किता राई, भावना दाहाल, अस्मिता खड्का, गङ्गा बस्नेत र सोमकुमारी भण्डारी छात्रवृत्तिबाट लाभान्वित भएका छन्।

प्राञ्जु बस्नेत कार्की, सुनिता पोखरेल, कान्ति बास्कोटा, बिन्दा शर्मा, मीरा ध्वजु र केशव दाहालद्वारा स्थापना गरिएको अक्षय कोषबाट उनीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो। यसै वर्षदेखि काशीराज दाहाल छात्रवृत्ति तथा पूर्वप्राचार्य डी.बी. लामाको स्मृतिमा स्थापना गरिएको पुरस्कार पनि वितरण गरिएको छ। उक्त पुरस्कार पूर्वप्राचार्य लामाकी छोरी रोजी लामाले स्थापना गरेकी हुन्।
भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी सुरुवात गरिएको कार्यक्रममा साहित्यकार कलानिधि दाहाल, अञ्जन ढुङ्गेल, राधा कार्की, हरिभक्त सिग्देल, ठाकुर शर्मा, विजयध्वज थापा र निर्मलरमण पराजुलीले कविता वाचन गरेका थिए। यस अवसरमा साहित्यकार कृष्णप्रसाद भट्टराई, सुभाष पाण्डे, मुकुन्दराज दाहाल, पत्रकार कल्पना शर्मा, रमादेवी न्यौपाने, अप्सरा थापा, सुरेन्द्र पौडेल, शैलेन्द्र साकार र रामप्रसाद पन्तसहित प्रमुख अतिथि निलाम्बर आचार्य तथा सभापति रामप्रसाद दाहालले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनामा रहेको योगदानबारे मन्तव्य व्यक्त गरेका थिए।
तपाईंको प्रतिकृया



