अर्थतन्त्रमा अपेक्षित आत्मविश्वास फर्किन सकेको छैन,अहिलेको आवश्यकता भनेको यही शिथिलतालाई झक्झकाएर आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

काठमाडौं । बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको भन्ने आलोचनाको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिँदै वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउन मध्यम वर्गको क्रयशक्ति, निजी क्षेत्रको भरोसा र राज्यको खर्च गर्ने क्षमता पुनःस्थापित गर्नु आवश्यक रहेको बताएका छन् ।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै बिहीबार प्रतिनिधिसभामा उनले गरिब, किसान र श्रमिकका विषयमा पर्याप्त ध्यान नदिएको भन्ने चिन्तालाई गम्भीर रूपमा लिएको उल्लेख गरे । उनले भने, ‘कतै गरिबहरू यस बजेटमा अटेनन् कि ? मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि ? कृषि र श्रमका विषयमा यहाँहरूले उठाउनुभएको चासोलाई मैले अत्यन्त गम्भीरतापूर्वक लिएको छु ।’

कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र पूर्ण रूपमा तंग्रिन नसकेको अर्थमन्त्री वाग्लेले उल्लेख गर्दै विगत केही वर्षदेखि कमजोर माग (एग्रिगेट डिमान्ड) का कारण आर्थिक गतिविधिमा शिथिलता आएको बताए। ‘अर्थतन्त्रमा अपेक्षित आत्मविश्वास फर्किन सकेको छैन । अहिलेको आवश्यकता भनेको यही शिथिलतालाई झक्झकाएर आर्थिक गतिविधिलाई पुनः गति दिनु हो,’ उनले भने ।

उनका अनुसार निजी लगानी सुस्त रहेको र अर्थतन्त्र मन्दीको अवस्थाबाट गुज्रिरहेको वर्तमान परिस्थितिमा माग पुनर्जीवित गर्ने कार्यक्रम ल्याउनु अपरिहार्य छ ।  ‘यसलाई केवल मध्यम वर्गमुखी वा सहरी वर्गमुखी भनेर व्याख्या गर्नु यथार्थपरक हुँदैन,’ उनले भने, ‘मध्यम वर्गको क्रयशक्ति बढ्दा वा घट्दा उद्योग, व्यापार, पर्यटन र रोजगारीका क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित हुन्छन् । ’

अर्थतन्त्रलाई पुनः चलायमान बनाउन मध्यम वर्गको आत्मविश्वास, निजी क्षेत्रको भरोसा र राज्यको खर्च गर्ने क्षमता पुनस्र्थापित गर्नु आर्थिक पुनरुत्थानको आधारभूत सर्त भएको उनले बताए ।  ‘यो कुनै विशेष वर्गलाई सुविधा दिने विषय होइन, समग्र अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयास हो,’ उनले स्पष्ट पार्दै भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

1

अर्थतन्त्रमा अपेक्षित आत्मविश्वास फर्किन सकेको छैन,अहिलेको आवश्यकता भनेको यही शिथिलतालाई झक्झकाएर आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री