गिनीज बुढा
काठमाडौँ । नेपाल बाल संगठन (नेपाल बाल मन्दिर) ले आफ्नो केन्द्रीय कार्यसमितिलाई पूर्णता दिँदै अनाथ तथा असहाय बालबालिकाको हकहितका लागि नयाँ कार्ययोजना अघि सारेको छ। संगठनको अध्यक्षमा पुनः विद्या उपाध्याय न्यौपाने निर्विरोध चयन भएकी छिन्। उनको यसअघिको कार्यकाल संगठनको इतिहासमा अत्यन्तै अर्थपूर्ण र उपलब्धिमूलक मानिएको छ।
आफ्नो अघिल्लो कार्यकालमा अध्यक्ष न्यौपानेले संगठनको बहुमूल्य सम्पत्ति जोगाउन र हिनामिना भएका जग्गा जमिन फिर्ता ल्याउन आफैँ अध्ययन र अनुसन्धानमा खटिएकी थिइन्। उनको दृढ इच्छाशक्तिका कारण दशकौँदेखि विवादमा रहेका बाल मन्दिरका जग्गाहरू संरक्षण गर्ने प्रक्रियाले गति लिएको छ। संगठनको हकहितलाई सर्वोपरी ठान्दै उनले अहोरात्र खटिएर गरेको कामको प्रशंसा गर्दै पुनः नेतृत्वको जिम्मेवारी दिइएको हो। न्यौपाने भन्छिन्: ”संगठनको सम्पत्ति भनेको देशका अनाथ बालबालिकाको भविष्य हो। यसलाई जोगाउनु र सही सदुपयोग गर्नु हाम्रो प्रमुख दायित्व हो। हामी केवल संरक्षण मात्र गर्दैनौँ, यसलाई बालबालिकाको पालनपोषण र गुणस्तरीय शिक्षाको दिगो स्रोत बनाउनेछौँ।”

नयाँ कार्यसमितिमा १८ जना सदस्यहरू रहेका छन्, जसले संगठनको उद्देश्य प्राप्तिका लागि सामूहिक रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सदस्यहरूमा जीवन प्रभा लामा, देउमान विष्ट, दिनेश कुमार यादव, शमिम खान, मोहन प्रसाद भट्टराई लगायतका अनुभवी व्यक्तित्वहरू रहेका छन्। सहयोगी हातहरूको साथ संगठनलाई सुचारु रूपमा सञ्चालन गर्न र बालबालिकाको शिक्षा–दीक्षाका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको छ। हालै सार्वजनिक गरिएको विवरण अनुसार मित्र समाज, मोडर्न इन्डस्ट्रिज, काठमाडौँ महानगरपालिका वडा नं १ परिवार, विभिन्न होटलहरू (डार्भिन, मोनालिसा, होलिडे ईन, मेरियट), रेडक्रस सोसाइटी लगायत २६ भन्दा बढी संघ–संस्था र व्यक्तिहरूले नियमित सहयोग गर्दै आएका छन्। विशेष गरी कपिलवस्तु नगरपालिका र स्थानीय दाताहरूको सक्रियताले बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न ठूलो सहयोग पुगेको संगठनले जनाएको छ।
अध्यक्ष न्यौपानेको नेतृत्वमा अबको कार्यसमितिले अनाथ बालबालिकाहरूका लागि स्रोत जुटाउने मात्र नभई उनीहरूलाई समाजमा सम्मानित नागरिकका रूपमा स्थापित गर्न प्राविधिक र सीपमूलक शिक्षामा जोड दिने लक्ष्य राखेको छ। न्यौपाने भन्छिन्: “यसको योजनामा प्रदेश स्तरीय बालग्राम निर्माण,क्लस्टर छुट्याएर हाल सञ्चालनमा रहेका बालगृहहरूको व्यवस्थापन, सवै बालबालिकाहरुका लागि प्लेनिटोरियम निर्माणको योजनाका साथै अपाङ्गता भएकाहरुका लागि विशेष सुविधा सहितको बालगृहको व्यवस्थापन र सिमा क्षेत्रका जिल्लाहरुमा बालबालिका उद्धार तथा अस्थायी वास(transit centre)संचालनको निर्णय गरिसकेका छौँ तर संगठनको आर्थिक अवस्था , खर्चको भार तथा सरकारबाट बजेट विनियोजन समेत नभएका कारण शुरुवात गर्न सकिएको छैन।हामीसँग भौतिक श्रोत छ तर संचालनका आवश्यक नियमित आर्थिक श्रोत छैन ।”




