कन्डक्टरदेखि संसदसम्म: कर्णालीमा रास्वपाको ‘बिउ’ जोगाउने रमेशको अबको लक्ष्य ‘सिंहदरबार’

गिनीज बुढा

काठमाडौं । राजनीतिमा अक्सर पहुँच र विरासतको चर्चा हुन्छ, तर कहिलेकाहीँ सडकको धूलो र पसिनाबाट यस्ता पात्रहरू उदाउँछन्, जसले स्थापित भाष्यलाई नै बदलिदिन्छन्। यतिबेला कर्णाली प्रदेशको राजनीतिक क्षितिजमा त्यस्तै एउटा नाम चम्किएको छ— रमेश कुमार सापकोटा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधित्व गर्दै संघीय संसदमा प्रवेश गरेका रमेश केवल एक सांसद मात्र होइनन्, उनी कर्णालीभरि रास्वपाको अस्तित्व जोगाउने ‘एक्लो बिउ’ र श्रमजीवी वर्गका आशाका केन्द्र हुन्।

रमेशको यो यात्रा कुनै सुसज्जित महल वा विरासतको जगमा ठडिएको होइन। सुर्खेतको साटाखानीमा एक अति सामान्य परिवारमा जन्मिएका उनले बाल्यकालको अभावलाई नजिकबाट नियाले। करेखोलास्थित मामाघरमा बसेर प्राथमिक शिक्षा लिँदै गर्दा उनले सायदै सोचेका थिए होलान्— कुनै दिन उनी देशको नीति निर्माण गर्ने सर्वोच्च थलोमा पुग्नेछन्। सुर्खेतकै श्री संस्कृत साधारण माध्यमिक विद्यालयबाट निम्न माध्यमिक तह पार गर्दै दाङको तुल्सीपुर महेन्द्र माध्यामिक विधालयबाट एसएलसी उत्तीर्ण गर्दासम्म उनको जीवन सामान्य गतिमा थियो। तर, उच्च शिक्षाका लागि सुर्खेत बहुमुखी क्याम्पस भर्ना भएपछि भने उनको जीवनले एउटा कठिन तर प्रेरणादायी मोड लियो।

आर्थिक अभावले थिचिएपछि अध्ययनसँगै उनले श्रमलाई रोजे। आफ्नै ठूलोबुवाको गाडीमा कन्डक्टरको रूपमा काम सुरु गर्दा उनले समाजको वास्तविक स्वरूप र भुइँतहका मानिसका दुःखलाई स्टेयरिङको घुम्तीहरूसँगै महसुस गरे। तीन वर्षसम्म चालक बनेर सडकमा पसिना बगाएका रमेशले थप आर्थिक समृद्धिको खोजीमा २०६० सालमा वैदेशिक रोजगारीको बाटो रोजे। साउदी अरब र कतारका तप्त मरुभूमिमा पानी कम्पनीको चालक बनेर उनले वर्षौँसम्म श्रम गरे। तर, पराई भूमिमा बगाएको पसिनाले उनलाई आफ्नै माटोमा केही गर्ने हुटहुटी मात्र दियो। २०६६ मा स्वदेश फर्किएपछि उनले फेरि यातायात क्षेत्रमै भविष्य खोजे। २०६८ मा काँक्रेविहार यातायात समितिमा आफ्नै बस भित्र्याएका उनले ठूलो व्यावसायिक सफलता र उत्तिकै भयानक संकट पनि व्यहोरे। झण्डै ७० लाख रुपैयाँको आर्थिक क्षति हुने गरी भएको बस दुर्घटनाले उनलाई गलाउन खोज्यो, तर उनको हिम्मत डगमगाएन। बरु, उनी यातायात क्षेत्रका समस्या र मजदुरका हकहितका लागि एउटा बलियो आवाज बनेर उभिए।

राजनीतिक रूपमा रमेशको जग नेपाली कांग्रेसमा बसेको थियो। वीरेन्द्रनगरको नगर सचिव जस्तो जिम्मेवार पदमा रहँदा पनि उनले त्यहाँभित्रको गुम्सिएको वातावरण र व्यक्तिवादलाई सहन सकेनन्। “कांग्रेसमा जति नै सक्रिय भए पनि नेताहरूले गर्ने अपमान र कार्यकर्तालाई दास सम्झिने प्रवृत्तिले मलाई बिझाइरह्यो,” उनी विगतको तीतो अनुभव पोख्छन्। पुस्तान्तरणको नारा नारामै सीमित भएको र सुशासनका कुरा गर्दा आफ्नैबाट तारो बन्नुपर्ने अवस्था आएपछि उनले एउटा साहसिक निर्णय लिए— वर्षौँदेखि ओढेको कांग्रेसको झण्डा बिसाउने र नयाँ वैकल्पिक शक्तिको सारथी बन्ने। ठिक त्यही बेला रास्वपा आफ्नो संगठन विस्तारको क्रममा थियो। रमेशले १७ महिना अघि कर्णालीमा रास्वपाको कमान सम्हाल्ने निर्णय गरे र जिल्ला सभापतिको रूपमा शून्यबाट संगठन निर्माणमा होमिए।

कर्णाली जस्तो भौगोलिक र राजनीतिक रूपमा कठिन क्षेत्रमा नयाँ पार्टीको जग बसाल्नु रमेशका लागि फलामको चिउरा चपाउनु सरह थियो। तर, उनले हार खाएनन्। अन्ततः ‘जेन्जी आन्दोलन’ र आम जनताको परिवर्तनको चाहनाले उनलाई संसदको ढोका खोलिदियो। कर्णाली प्रदेशभरिबाट रास्वपाले हार बेहोर्न लाग्दा रमेशले सुर्खेत-२ बाट सानदार जित निकालेर पार्टीको बिउ मात्र जोगाएनन्, एउटा इतिहास नै रचे। आज उनले पाएको त्यो लोकप्रिय मत केवल एउटा चुनावी नतिजा मात्र होइन, त्यो त कर्णालीका जनताले उनलाई सुम्पिएको ठूलो जिम्मेवारी पनि हो।

सिहदरबार छिर्ने चाहना
अहिले राष्ट्रिय राजनीतिमा रमेश सापकोटाको चर्चा केवल एक सांसदका रूपमा मात्र छैन, उनलाई वर्तमान सरकारको एक ऊर्जावान् सदस्यका रूपमा देख्न चाहनेहरूको संख्या पनि ठूलो छ। विशेषगरी काठमाडौंका मेयर बालेन शाहले देखाएको कार्यशैली र सुशासनको भोकलाई केन्द्र सरकारमा पनि उतार्न सक्ने क्षमता रमेशमा रहेको धेरैको बुझाइ छ। उनी मन्त्री बन्नु भनेको केवल एउटा व्यक्तिको पदोन्नति नभएर सिंगो कर्णालीले राज्यको कार्यकारी तहमा प्रतिनिधित्व पाउनु हो। पछाडि पारिएको कर्णालीमा विकासका योजनाहरू लैजान र त्यहाँको आवाजलाई सिंहदरबारको मूल टेबुलमा राख्न रमेश जस्तो भुइँतहको समस्या बुझेको र सङ्घर्षबाट खारिएको पात्र अपरिहार्य देखिएको छ। “पार्टीले मलाई उचित ठानेमा र जिम्मेवारी दिएमा म जस्तोसुकै चुनौती फत्ते गर्न तयार छु, मेरो अनुभवले मागेको क्षेत्रमा काम गरेर देखाउने आत्मविश्वास ममा छ,” उनी दृढताका साथ भन्छन्।

एउटा कन्डक्टरबाट सुरु भएको यात्रा, खाडीको चालक हुँदै देशको माननीय सांसदसम्म आइपुग्दा रमेशले कहिल्यै आफ्नो धरातल बिर्सिएनन्। सामान्य परिवारमा जन्मेको छोरोले आज राज्यको उच्च तहमा पुगेर कर्णालीको भाग्य र भविष्य कोर्ने सपना देखिरहेको छ। उनी भन्छन्, “म सांसदका रूपमा मात्र होइन, एउटा संवेदनशील सेवकका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध छु।” वास्तवमै, रमेशको यो उदय कर्णालीका लागि एउटा नयाँ बिहानीको संकेत हो र उनी जस्ता पात्रले कार्यकारी भूमिका पाउँदा मात्र संघीयता र लोकतन्त्रको वास्तविक फल दूरदराजका जनतासम्म पुग्न सक्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री