काठमाडौँ । नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्ने संस्कार त्यागेर नयाँ राजनीतिक यात्रा सुरू गरेको बताएका छन् ।
आइतबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरानै शक्ति केन्द्रको चाकडी गरेर परिवर्तन सम्भव नभएकाले नयाँ दल निर्माणको बाटो रोजिएको स्पष्ट पारे । उनले भने, ‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ।’
तत्कालीन नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो समयदेखिको मतभेद र भदौ २३ को घटनापछि उनी पार्टीबाट बाहिरिएका थिए । महाधिवेशन तय भइसकेको अवस्थामा एकीकृत समाजवादीलगायत दलसँग एकता गर्ने तयारी भएपछि माओवादी छाड्दै प्रगतिशील राष्ट्रिय अभियानमा शर्मा उत्रिएका थिए।
सो अभियानले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टीको गठन गरेको हो।



