अबको निर्वाचनमा निर्णायक बन्लान् त जेनजी ?

काठमाडौं । नेपालको संविधान २०७२ ले राज्यका हरेक तहमा सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गरे पनि जेनजी पुस्ताको प्रभावकारी सहभागिता अझै ओझेलमा छ । व्याप्त सुशासनको अभाव र भ्रष्टाचारको जालोले गर्दा सिर्जित निराशाले भदौ २३ र २४ गते जेनजीको अग्रसरतामा एक सशक्त आन्दोलनले जन्म लियो ।

र आन्दोलनले राजनीतिक वृत्तमा जेनजीको उपस्थिति अनिवार्य रहेको सन्देश दियो । संविधान, लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिहरूको रक्षा गर्दै नवीन सुधार र सुशासनमार्फत समुन्नत नेपाल निर्माण गर्ने संकल्प जेनजीले बोकेको छ ।

दशकौँदेखि विद्यार्थी जीवनबाटै सङ्गठित भई राजनीतिक दलहरूमा सक्रिय जेनजीका प्रतिनिधिहरूले ‘अग्रज पुस्ताको अनुभव, जेनजीको समानुपातिक सहभागिता’ को माग गरेका छन् । नेपाली कांग्रेसमा सक्रिय पूजा फुयाँल र विकल राई, नेकपा (एमाले) मा सक्रिय सुमन जैरू, नेपाली कम्युनिस्ट पार्टीमा सक्रिय स्मृति तिमिल्सिना र जनता समाजवादी पार्टी नेपालको विद्यार्थी सङ्गठनमा सक्रिय प्रवीणकुमार यादवले राजनीतिक सङ्गठनहरूमा जेनजीको अनिवार्य सहभागिता, प्रतिनिधित्व र सहकार्यमार्फत सशक्त, पारदर्शी तथा विश्वसनीय लोकतान्त्रिक प्रणालीको विकास गर्नुपर्ने धारणा राखे ।

फुयाँलले राजनीतिक दलहरूमा नयाँ पुस्ताको सहभागिता बढाउनका लागि संस्थागत सुधार अपरिहार्य रहेको बताइन् । उनले भनिन्, ‘दलहरूले युवालाई केवल कार्यकर्ताको रूपमा मात्र नहेरी नीति निर्माण तहमा समेत सहभागी गराउने नीति अवलम्बन गर्नु पर्छ । युवा नेतृत्व विकास कार्यक्रम, डिजिटल संवाद मञ्च र पारदर्शी भर्ती प्रणालीले जेनजीको चासो अझ बढाउँछ ।’

राईले जेनजीका युवा हरेक राजनीतिक दल, वर्ग र समुदायमा रहेको र जेनजीको भावना, जेनजी विद्रोहको मर्मलाई समेट्न सोही पुस्ताको प्रतिनिधित्व आवश्यक रहेको बताए । जेनजीका स्मृति तिमिल्सिना, सुमन जैरू र प्रवीणकुमार यादवले निर्वाचनमार्फत देशलाई नवीन रूपान्तरण गर्न सक्ने समावेशी संसद् निर्माण गर्नुपर्ने बताए ।

तिमिल्सिनाले पुराना पार्टीहरू साङ्गठनिक रूपमा बलियो भएकाले नयाँ पुस्ताका नेताहरू अगाडि आउनुपर्ने बताइन् । उनले भनिन्, ‘युवा नेतृत्व र नेताहरू अगाडि आउनु पर्छ, जसको देश बनाउने दूरदृष्टि छ, उनीहरूलाई भोट दिनु पर्छ । युवा युवा एकअर्काविरुद्ध लाग्ने होइन । जेनजीबाट निश्चित प्रतिशत नै उम्मेदवारीका लागि छुट्याउनु पर्छ र नेतृत्व लिन सक्ने युवालाई अवसर दिनु पर्छ । एक पटक नेतृत्वमा पुर्‍याउने र नेतृत्व क्षमता विकासतर्फ अग्रसर गराउनु पर्छ ।’

युवा जैरूले लोकतन्त्रलाई विश्वास गर्नेले निर्वाचनमार्फत नयाँ जनादेशमा जानुपर्ने बताए । जेनजीले सुशासन, नियमसङ्गत कामकारबाही र सरकारी सेवा प्रवाह हुने निकायको झन्झट हटोस भनेर आन्दोलन गरेको बताए । उनले भने, ‘प्रणालीमा सुधार गर्नु पर्छ । म निर्वाचनको पक्षमा छु । निर्वाचन हुनु पर्छ । संसद् पुनस्र्थापनाले जेनजी आन्दोलनलाई न्याय गर्दैन ।’

यादवले परिवर्तन पक्षधर सबै समूहका अगुवाहरू एक ठाउँमा आउनुपर्ने बताए । उनले राजनीतिक दलहरूलाई काम गर्न दबाब दिन पनि निर्वाचनमा परिवर्तन पक्षधर, जेनजीले रुचाएका, पार्टी सङ्घ सङ्गठनभन्दा माथि उठेर विषम परिस्थितिलाई निकास दिन सक्नेहरू एकै ठाउँमा आउनुपर्ने बताए । युवा पूजा फुयाँल, विकल राई, सुमन जैरू, स्मृति तिमिल्सिना र प्रवीणकुमार यादवले निर्वाचनमा युवा सहभागिता बढाउन मतदाता नामावलीमा नाम दर्ता गर्ने, निर्वाचनमा सहभागी हुने जस्ता आधारभूत विषयमा सघन प्रचारप्रसार गरिरहेका छन् ।

फुयाँलका अनुसार मतदाता सूची अद्यावधिक, खर्च नियन्त्रण र प्रशासनिक निष्पक्षता सुनिश्चित गर्न कडा कानुनी व्यवस्था लागू गर्न र प्रविधिमुखी भोटिङ प्रणाली अपनाउन युवापुस्ताले निरन्तर बहस चलाइरहेका छन् । उनले भनिन्, ‘जेनजीले आफ्नो नवप्रवर्तनशील सोच, प्रविधि दक्षता र सामाजिक प्रतिबद्धताको माध्यमबाट सरकारलाई सहयोग पुर्‍याउन सक्छन् । डिजिटल शासन, वातावरणीय संरक्षण, शिक्षा सुधार र रोजगारी सिर्जनाका क्षेत्रमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

राष्ट्रिय परिवर्तन पार्टीले पायो प्रमाणपत्र
राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् ।

यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको छ । गत कात्तिक २ गते दल दर्ताको निवेदन दिएका दिए । सोमबार दल दर्ताको प्रमाणपत्र पाएका हुन् । निर्वाचन आयोगबाट पार्टीको आधिकारिक प्रमाणपत्र प्राप्त गर्नुलाई उनीहरूले ऐतिहासिक क्षण भनेका छन् । निर्वाचन आयोग परिसरमै उनीहरूले पत्रकारलाई बाँडेको ब्रिफिङमा भनिएको छ, ‘यो केवल एउटा पार्टी दर्ता भएको प्रमाणपत्र होइन, यो जेनजी आन्दोलनमा घाइते भएका सबै वीर युवाहरूको पीडा, अधिकार र न्यायको पक्षमा उभिने हाम्रो अटल वाचाको प्रमाणपत्र हो ।’

शहीदहरूको सपना खेर जान नदिने, उनीहरूको बलिदानलाई इतिहासको पानामा मात्र सीमित नगरी व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्ने यो पार्टीको प्रतिज्ञा छ । देशमा परिवर्तन आउँछु भनेर आफ्नो ज्यानसम्म अर्पण गर्ने प्रत्येक सहिदको सपना पूरा गर्ने यो पार्टीको दृढता छ । चुनावभन्दा अघि आफूहरूका प्रमुख मागहरू सुनिश्चित गराउनु पर्ने समेत उनीहरूको सर्त छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप