काठमाडौं । जावलाखेलस्थित अल्का अस्पताल प्रा.लि. र नारायणचौर, नक्शालमा प्रधान कार्यालय रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच सेवा आदानप्रदान गर्ने महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ । यस सम्झौताले दुई संस्थाबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याएको छ, जसबाट स्वास्थ्य बीमाका ग्राहकहरूले नगद रहित उपचारको सुविधा पाउनेछन् ।
सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पताल प्रा.लि.का वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरे ।
यो सम्झौतापछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूले आफ्नो बीमालेखको सीमासम्म अल्का अस्पताल प्रा.लि.बाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सक्नेछन् । यसले गर्दा ग्राहकहरूलाई उपचारका क्रममा तत्काल नगदको जोहो गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ ।
सम्झौता समारोहमा बोल्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले अल्का अस्पतालले आफ्ना ग्राहकहरूलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरूलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट ढुक्क भएर लिन आह्वान पनि गरे ।
सोही अवसरमा अल्का अस्पताल प्रा.लि.का वित्त अधिकृत मुकुन्द भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकहरूको संख्यामा वृद्धि हुँदै गएको बताए । उनले कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरू छिटो छरितो प्राप्त हुने र क्रमशः सेवाका लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।
यस सम्झौताले स्वास्थ्य बीमा सेवालाई थप सुलभ र पहुँचयोग्य बनाउनुका साथै ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।




