काठमाडौँ । सोमबार राति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्ने अनुमति दिएको हो ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले भने ‘अब हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढ्नेछ,’ प्रसाईँले ७ मंसिरदेखि देश ठप्प पारेर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्न आन्दोलन थाल्ने घोषणा गर्दै आएका थिए।
पछिल्लो समय उनले विभिन्न दूतावासहरूको नामै तोकेर बम प्रहार हुन सक्ने र त्यसको दोष आफूलाई थोपारिन सक्ने आशयका अभिव्यक्ति सार्वजनिक गरेका थिए ।
आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत उनलाई कानुनी दायरामा ल्याउनुपर्ने विषय उठेको थियो । बैठकले हिंसा भड्काउने र नागरिकमा आतङ्क पैदा गर्ने गतिविधि गर्ने व्यक्तिहरूलाई निस्तेज पार्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो।




