काठमाडाैँ । के तपाईं चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ? आज (बुधबार) बाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन। प्लास्टिकजन्य बस्तु लैजाँदा सुरक्षामा खटिएका सुरक्षाकर्मीले तपाईंलाई रोक्नेछन्। सुरक्षाकर्मीले तपाईंले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन्।
तपाईंले कपडाको झोला पाउनुहुने छ। जहाँ लेखिएको छ, ‘प्लाष्टिक नाई भन्नु ल !’ त्यही झोलामा तपाईंका सामग्री राखिनेछ। तत्कालका लागि प्लाष्टिकका झोलाबाहेक अन्य सामग्री लैजान पाए पनि सुरक्षा पोष्टमा टिपाएर कपडाको झोलामा राखेर मात्रै लान पाइने छ।
फर्कंदा ती सामग्रीका खोल आफूसँगै फिर्ता ल्याउनुपर्ने छ। अन्यथा तपाईं कारवाहीमा पर्नुहुने छ। पहिलो चरणमा झोलाबाट शुरुआत गरिएको भए पनि क्रमशः पानीका बोतल, खानेकुरा हुँदै पूर्णरूपमा प्लाष्टिकजन्य वस्तु निषेध गने चितवन राष्ट्रिय निकुञ्जको तयारी छ।
मङ्गलबारदेखि निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले निकुञ्जभित्र प्लाष्टिकको झोला नलैजान, त्यसको विकल्पमा कपडाको झोला प्रयोग गर्न, प्लाष्टिकको बोतलसँगै प्लाष्टिकजन्य फोहरलाई निकुञ्जभित्र नछोड्न र त्यसलाई बाहिर सुरक्षा जाँच गर्ने ठाउँको डस्विनमा राख्न आग्रह गरेका छन्।
निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रीउजस्ता खोलाबाट वर्षाको समयमा बगेर आउने प्लाष्टिक तत्काल सफा गरिने भएको छ। निकुञ्जकका कर्मचारी, वाह्य पर्यटक र निकुञ्जको बाटो भएर जाने यात्रुबाट प्लाष्टिक सङ्कलन गरिन्छ।
यस्तो छ निकुञ्जको इतिहास
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुसहितको बासस्थान हो। विसं २०३० असोज ४ गते स्थापना भएको सो निकुञ्ज ९५३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। मध्यवर्ती क्षेत्र ७२९ वर्ग किलोमिटर छ। यो पाँच जिल्लामा फैलिएको छ । सन् १९८४ मा निकुञ्ज युनेस्कोको सूचीमा परेको थियो।
निकुञ्ज विशेष गरेर एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ। निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरुङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणी पाइन्छन्।
यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गूर बाँदरलगायत पर्छन् । निकुञ्ज घुम्न आन्तरिक र बाह्य गरी वार्षिक झण्डै दुई लाख पर्यटक आउने गरेका छन्।




