निर्वाचन आयोगद्वारा मतदाता नामावलीको सुरक्षा सुनिश्चितता, अनधिकृत पहुँचको दाबी निराधार

काठमाडौं । निर्वाचन आयोगले आफ्नो वेबसाइट र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आयोगको प्रणालीमा अनधिकृत पहुँच पुगेको र मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला परेको भनी गरिएका दाबीहरू निराधार रहेको आयोगले एक सूचना जारी गर्दै जनाएको हो ।

आयोगका अनुसार, निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन । नागरिकका कानुनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको जानकारी गराइएको छ । आयोगले आफ्नो सूचना प्रविधिसम्बन्धी विज्ञहरूको टोलीले सूचना प्रणालीको निरन्तर अनुगमन गरिरहेको, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गरिरहेको पनि उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरूबारे पनि आयोगले स्पष्टीकरण दिएको छ । आयोगका अनुसार ती फाइलहरू विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सार्वजनिक सूचनाहरू हुन् ।

आयोगले यस्ता भ्रामक सूचनाहरूबाट भ्रमित नहुन सम्पूर्ण सरोकारवाला र आम नागरिकमा आग्रह गरेको छ । निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदाताको व्यक्तिगत विवरणको सुरक्षाप्रति आयोग सधैँ सजग र प्रतिबद्ध रहेको आयोगको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री