
काठमाडौं । रुसद्वारा युक्रेनको राजधानी किभमा ड्रोन र मिसाइल आक्रमण गरिएको छ । शुक्रबार स्थानीय समय १२:०१ बजे उक्त आक्रमण भएको हो । हमलामा कम्तिमा ४ जनाको मृत्यु र २७ जना घाइते भएका छन् भने दर्जनौं आवासीय भवनहरू, एक अस्पताल, विद्यालय र प्रशासनिक भवनहरू क्षतिग्रस्त भएका छन् । किभ अन्तर्गत पर्ने प्रायः सबै जिल्लामा आवासीय भवनहरू आक्रमणमा परेको जानकारी किभको सैन्य प्रशासन प्रमुखले दिएका छन् ।
किभ अन्तर्गतका जिल्लाहरू डेस्न्यान्स्की, पोडिल, डनिप्रोभ्स्कीमा क्षति पुगेको छ । जसमा डेस्न्यान्स्की जिल्लामा रहेको एक आवासीय भवनमा लागेको आगलागीबाट १४ जनालाई उद्धार गरिएको थियो भने एक जनाको मृत्यु भएको थियो । आक्रमणका कारण राजधानी किभको तातोपानी (हिटिङ) प्रणालीका केही भागहरू क्षतिग्रस्त भएको र विद्युत तथा पानी आपूर्ति प्रभावित हुन सक्ने जानकारी राजधानीका मेयर भिटाली क्लिच्कोले दिए ।
आक्रमणलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले X मार्फत अघिल्लो रातदेखि आपतकालीन सेवाहरू रुसी आक्रमण भएका स्थानहरूमा काम गरिएको जानकारी दिए । उनले हालसम्म दर्जनौं घाइते भएका, जसमा बच्चा र गर्भवती महिला पनि रहेको र मृत्यु भएका ४ जनाको परिवार र प्रियजनप्रति समवेदना व्यक्त गरे ।
आक्रमणमा लगभग ४३० ड्रोन र १८ मिसाइलहरू प्रयोग गरिएको र ब्यालिस्टिक तथा एरोब्यालिस्टिक मिसाइलहरू समावेश रहेको जानकारी जेलेन्स्कीले दिए । उनी लेख्छन्, “यो एक जानकारीपूर्ण र योजनाबद्ध आक्रमण हो । यो आक्रमणको मुख्य लक्ष्य किभ थियो । खार्किभ र ओडेसा क्षेत्रहरूसम्ममा पनि असर पुगेको छ । आज बिहान सुमी क्षेत्रमा रुसीहरूले गिर्सन मिसाइल प्रयोग गरेका थिए । युक्रेनले यी आक्रमणहरूलाई दूरदर्शी शक्तिद्वारा जवाफ दिइरहेको छ । विश्वले जीवनमाथिको यी आक्रमण रोक्न प्रतिबन्ध लगाउनुपर्छ । रुस अझै तेल बेच्न र आफ्नो सैन्य योजना निर्माण गर्न सक्षम छ । यी सबै तुरुन्त रोकिनुपर्छ । साझेदारहरूसँग मिलेर हाम्रो हवाई रक्षा बललाई सुदृढ पार्ने ठूलो काम भइरहेको छ, तर यो पर्याप्त छैन । युरोप र संयुक्त राज्य अमेरिकाद्वारा मद्दत मिल्न सक्छ । हाल म सेनानीहरूको प्रभावकारी कार्य र मद्दत गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।”
२०२२ देखि अहिलेसम्म रुस र युक्रेनबीच युद्ध जारी छ । युद्धविरामका लागि प्रयास नभएका होइनन् । २०२५ को मे मा किभ र मास्कोबीच इस्तानबुलमा प्रत्यक्ष वार्ता भयो तर दुई घण्टाभन्दा कम समयमै त्यो समाप्त भयो र केही ठोस निष्कर्ष भने निस्केको थिएन । तर एउटा सकारात्मक पक्ष के रह्यो भने, दुवै देशले १०००-१००० बन्दी साट्ने सहमति भयो ।
जनवरी २०२३ मा रुसी अनौपचारिक “क्रिसमस युद्धविराम” प्रस्ताव आएको थियो, तर यो सीमित समयको लागि थियो र प्रभावकारी थिएन ।युद्ध रोक्न विभिन्न अन्तर्राष्ट्रिय प्रयासहरू समेत भएका छन् । संयुक्त राष्ट्रले शान्ति र सुरक्षा कायम गर्न अनेकौं प्रस्ताव पेश गरेको छ । युरोपेली देशहरूले पनि सक्रिय पहल गर्दै लन्डनमा विशेष शान्ति समिट गरेका थिए । यी सबै पहलहरूको उद्देश्य शान्ति स्थापना हो तर यसको परिणाम भने निस्किन सकेको छैन ।




