काठमाडौं । एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने “पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड” जितेको छ। यो प्रतिष्ठित सम्मान चीनको बेइजिङ्गमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको हो।
१४० भन्दा बढी देशहरूको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालका लागि यो अवार्ड प्राप्त हुनु गर्वको विषय बनेको छ। फोटोनका अनुसार नेपाल हाल विश्वका ती देशमध्ये एक बनेको छ जहाँ इलेक्ट्रिक कमर्शियल भेहिकल (ईभी) बजार तीव्र गतिमा विस्तार हुँदैछ। नेपालमा फोटोन अहिले कमर्शियल इभी क्षेत्रमा दोस्रो ठूलो ब्रान्डको रूपमा स्थापित भएको छ, जसले देशको दिगो र हरित यातायात प्रणालीतर्फको प्रगति दर्शाउँछ।
अवार्ड फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गले प्रदान गरेका थिए भने एमएडब्लू वृद्धिका म्यानेजिङ डायरेक्टर विवेक सिकरियाले ग्रहण गरेका थिए। सिकरियाले यो सफलता फोटोनको साझेदारी, कर्मचारीहरूको समर्पण र ग्राहकहरूको विश्वासको परिणाम भएको बताएका छन्।
फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२६ नोभेम्बर ६ देखि १० सम्म “अ शेयर्ड भिजनः टु बी अ वर्ल्ड(क्लास कमर्सियल भेहिकल इन्टरप्राइज” भन्ने विषयवस्तुका साथ सम्पन्न भएको थियो। कार्यक्रममा २,००० भन्दा बढी साझेदारहरूको सहभागिता रहेको थियो भने ११० अत्याधुनिक कमर्शियल भेहिकल्स प्रदर्शनमा राखिएका थिए।
एमएडब्लू वृद्धिले यस उपलब्धिलाई नेपालमा दिगो ऊर्जा र इलेक्ट्रिक मोबिलिटीको दिशामा नयाँ माइलस्टोनको रूपमा लिएको जनाएको छ। कम्पनीले फोटोनसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै भविष्यमा दक्षिण एसियाको इभी विस्तारमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ।




