यूएईमा थानेश्वर घिमिरेमाथि लगाइएको यात्रा प्रतिबन्ध कायम, पहल गरिदिन सरकारसँग आग्रह

बुटवल । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-८ का थानेश्वर घिमिरे (राहदानी नं. १०६७६६८४) हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा आपराधिक अनुसन्धानसँग सम्बन्धित एक घटनामा संलग्न रहेको आशंकामा अनुसन्धान प्रक्रियामा रहेका छन् । उनीमाथि स्थानीय प्रहरी प्रशासनले अर्को नेपाली नागरिकको मृत्युसँग सम्बन्धित घटनाको सिलसिलामा यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) लगाएको राजदूतावासले जनाएको छ ।

राजदूतावासका अनुसार, यो घटना गम्भीर प्रकृतिको भएकाले यूएईका सम्बन्धित निकायहरूले अनुसन्धान पूरा नभएसम्म र कानूनी प्रक्रिया सकिएसम्म यात्रा प्रतिबन्ध हटाउन नसकिने स्पष्ट पारेका छन् ।
राजदूतावासले मानवीय पक्षलाई ध्यानमा राख्दै श्रम काउन्सेलर, जनसम्पर्क अधिकृत र थानेश्वर घिमिरेका कानूनी प्रतिनिधिको उपस्थितिमा तीन पटकसम्म सम्बन्धित प्रहरी कार्यालय र अदालतमा औपचारिक भेटवार्ता गरी उनलाई नेपाल फर्कन अनुमति दिनका लागि अनुरोध गरेको थियो ।

तर यूएई अध्यागमन कार्यालयले ‘घिमिरेमाथि चलिरहेको आपराधिक अनुसन्धान पूरा नभएसम्म प्रतिबन्ध हटाउन नसकिने’ भन्दै राजदूतावासको अनुरोध अस्वीकार गरेको छ । सन् २०२४ सेप्टेम्बरदेखि डिसेम्बरसम्म चलेको आममाफी (एम्नेस्टी) अवधिमा समेत राजदूतावासले घिमिरेका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) तयार गर्न पहल गरेको थियो, तर सो प्रक्रिया पनि प्रतिबन्धका कारण सफल हुन सकेन ।

राजदूतावासका अनुसार, थानेश्वर घिमिरे यूएई पुगेको केही समयमै सो घटनामा फसेका थिए । प्रतिबन्धका कारण उनी कुनै रोजगारी गर्न वा नेपाल फर्कन सकिरहेका छैनन् । हाल उनी नेपाली समुदायको सहयोगमा यूएईमै कठिन परिस्थितिमा बस्दै आएका छन् । नेपालमा रहेका उनका परिवारजन, विशेषगरी उनकी दिदी लक्ष्मी घिमिरेका अनुसार, थानेश्वर निर्दोष छन् र उक्त घटनामा उनको कुनै संलग्नता छैन । उनी भन्छिन्, ‘हाम्रो परिवारमा बुबा नभएकाले घरको मुख्य जिम्मेवारी सोही छोरामाथि छ । अहिले उनी विदेशमा अलपत्र परेका छन् । न काम गर्न पाएका छन्, न नेपाल फर्कन । घरमा पनि आर्थिक र मानसिक दुवै समस्या बढेको छ ।’

लक्ष्मी घिमिरेका अनुसार, यूएईस्थित नेपाली राजदूतावासले सक्दो प्रयास गरे पनि त्यसले मात्र पर्याप्त नतिजा नल्याएको भन्दै अब नेपाल सरकारले पनि सक्रिय पहल गर्नुपर्ने बेला आएको छ । उनले भनिन्,
‘हामीले जहाँ जहाँ पुग्न सकिन्छ, सबै ठाउँमा गुहारेका छौँ । तर, जसले वास्तवमै पहल गर्नुपर्ने हो, त्यस पक्षबाट पर्याप्त प्रयास भएको देखिँदैन । नेपाल सरकारले यो मुद्दालाई द्रुत अनुसन्धान र उच्चस्तरीय कूटनीतिक पहलमार्फत समाधान गरिदिनुपर्छ ।’

परिवारले नेपाल सरकारमार्फत यूएई सरकारसँग समन्वय गरी अनुसन्धान प्रक्रिया छिटो टुङ्ग्याउन, निर्दोष प्रमाणित भए उनलाई नेपाल फर्कन अनुमति दिलाउन आग्रह गरेको छ । राजदूतावासले भने, ‘हामी स्थानीय कानूनी प्रणालीको सीमाभित्र रहेर सक्दो कन्सुलर सहायता प्रदान गर्न प्रतिबद्ध छौँ । यो मुद्दा कूटनीतिक र कानूनी माध्यमबाट समाधान गर्न निरन्तर समन्वय भइरहेको छ ।’

थानेश्वर घिमिरे अहिले यूएईमा बिना रोजगारी र कमजोर स्वास्थ्य अवस्थासहित कठिन जीवन बिताइरहेका छन् । परिवारजनले नेपाल र यूएई दुवै सरकारलाई मानवीय र न्यायिक आधारमा यस मामिलाको छिटो समाधान गर्न पुनः आह्वान गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री