काठमाडौं । नेकपा एमालेबाट अलग्गिएर ‘मातृभूमि जागरण अभियान’ चलाउँदै आएका नेता भीम रावल र नेपाल कम्युनिष्ट पार्टी श्रमजीवीका महासचिव प्रमोद नारायण यादव आज नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एक विशेष समारोहमा उनीहरूको एकता घोषणा गरिएको हो ।
लामो समयदेखि नेकपा एमालेभित्र असन्तुष्ट रहेका र ‘मातृभूमि जागरण अभियान’ मार्फत आफ्ना विचारहरू व्यक्त गर्दै आएका रावलको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कार्यक्रममा रावलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर रहेको छ । हस्ताक्षर लगत्तै सभा गृहमा आयोजित कार्यक्रमका बीच एकता घोषणा गरिएको हो ।




