काठमाडौं । अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि पुनः काठमाडौं उपत्यकामा आपूर्ति सुरु भएको छ । आन्दोलनरत स्थानीय बासिन्दासँगको समझदारीपछि मेलम्चीको पानी पुनः राजधानी पठाउन थालिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको विशेष पहलमा मंगलबार विवाद समाधानका लागि महत्वपूर्ण सहमति जुटेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित छलफलमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका उच्च पदाधिकारीहरू र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
छलफलमा दुवै पक्षले आ-आफ्ना सरोकारहरू राखेका थिए। गहन र विस्तृत वार्तापछि सौहार्दपूर्ण वातावरणमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ, जसले लामो समयदेखिको विवादलाई समाधान गरेको छ । यो सहमतिको परिणामस्वरुप आजदेखि राजधानीका धाराहरूमा मेलम्चीको शुद्ध र स्वच्छ पानी आउने निश्चित भएको छ ।
यसअघि विभिन्न माग राख्दै स्थानीय बासिन्दाले पानी आपूर्तिमा अवरोध सिर्जना गरेका थिए । तर, मन्त्री घिसिङको सक्रिय भूमिका र दुवै पक्षको सकारात्मक पहलका कारण अन्ततः सहमतिमा पुग्न सफल भएको हो ।




