- गिनिज बुढा
काठमाडौं । अभिनेत्री वर्षा राउतको नयाँ चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक कार्यक्रमका क्रममा उनको हातमा देखिएको दागले सामाजिक सञ्जालमा नयाँ तरङ्ग ल्याएको छ । सामान्य मानिसको व्यक्तिगत जीवनको विषय बन्ने यस्ता शारीरिक चिन्हहरू यसपटक वर्षाका लागि सार्वजनिक टीकाटिप्पणीको विषय बन्यो ।
यस विषयमा वर्षाले आफ्नो फेसबुक स्टाटसमार्फत स्पष्टीकरण दिएकी छिन् । उनले आफ्ना दागहरूलाई भ्रामक रूपमा प्रस्तुत गरिएको र ती १०/५ वर्ष पुराना रहेको जानकारी दिइन् । उनले चलचित्रको विषयमा भन्दा व्यक्तिगत विषयमा बढी चर्चा भएकामा दु:ख व्यक्त गर्दै लेखेकी छिन्, ‘कार्यक्रम त चलचित्र ‘हर्ष’ को थियो, तर न त चलचित्रले हेडलाइन पायो, न कतै त्यसको उल्लेख भयो ।’
राउतले कलाकारको सबैभन्दा ठूलो पहिचान उसको काम, मेहनत र सिर्जना रहेको तथा व्यक्तिगत जीवनका अनुमान नरहेको बताइन् ।
कुनै पनि क्षेत्रमा कार्यरत महिलाको काम वा प्रस्तुतिभन्दा व्यक्तिगत जीवनमाथि धेरै चासो राखिनु वर्षाको मात्र उदाहरण होइन । अभिनेत्री, गायिका, नेता, समाजसेवी लगायतका चर्चित महिलाहरूको व्यक्तिगत जीवनमा टीकाटिप्पणी हुनु अहिलेको समयमा कुनै आश्चर्यको कुरा रहेन । केही समयअघि गायिका एलिना चौहानको सम्बन्धविच्छेद पनि सामाजिक सञ्जालमा धेरैको चर्चाको विषय बनेको थियो ।
त्यस्तै, पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठलाई सन् २०२३ मा अभिनेता सौगात मल्लसँगको ब्रेकअपका अफवाहले प्रभावित पारेको थियो । यस प्रवृत्तिले महिलाहरूको मानसिक र सामाजिक शोषणलाई लामो समयदेखि बेवास्ता गरिएको छ । चर्चित अभिनेत्री प्रियंका कार्कीले ‘माइ रिपब्लिका’ सँगको अन्तर्वार्ताका क्रममा आफ्नो व्यक्तिगत जीवनको ढोका बन्द रहेको र धेरै अफवाह सुनेर तथा पढेर आफ्नो व्यक्तिगत जीवनका कुरा गर्न छाडेको बताएकी थिइन् ।
अन्तर्राष्ट्रिय घटनाक्रमलाई हेर्ने हो भने, अमेरिकाकी कुनै समयकी ग्लोबल पप आइकन ब्रिट्नी स्पीयर्सको करियरमा पनि उनको निजी जीवनमा मिडियाको दखलका कारण ठूलो प्रभाव परेको थियो । स्पीयर्सको निरन्तर पाप्पाराजीले पछ्याउने, सार्वजनिक आलोचना र अफवाहहरू सहनु पर्ने तथा निरन्तर निजी जीवनमा दखल हुने कारण उनको मानसिक स्वास्थ्यमा असर पर्दै गयो ।
सन् २००८ मा उनका पिताले उनको वित्त, करियर र दैनिक जीवनमा नियन्त्रण पाएपछि उनी स्वतन्त्र रूपमा सङ्गीत बनाउन र परियोजना छनोट गर्न सकिनन् । उनलाई रेकर्ड लेबल कम्पनीद्वारा व्यक्तिगत सङ्घर्षका बाबजुद सधैँ प्रदर्शन गर्न र पूर्ण छविमा रहन दबाब मिल्थ्यो । यस्तो अवस्थामा उनको व्यक्तिगत जीवनलाई सार्वजनिक मनोरञ्जनमा परिणत गरिनुले उनको करियरमा बाधा निम्त्यायो । #FreeBritney आन्दोलन पछि सन् २०२१ मा उनले आफ्नो करियर र व्यक्तिगत जीवनमा नियन्त्रण फिर्ता पाइन् ।
समाजमा अहिले पनि प्रख्यात महिलाहरूलाई विशेष निगरानीमा राखिन्छ । उनीहरूले गरेका कामहरूमा लगातार प्रश्न उठ्छ र आलोचना भइरहेको हुन्छ । उनीहरूको व्यक्तिगत जीवनमा पटकपटक हस्तक्षेप गरिन्छ । के अहिलेको युगमा पनि महिलाहरूको निजी विषयलाई मनोरञ्जनको साधन बनाउनुभन्दा माथि हाम्रो समाज उठ्न नसकेको हो त ?




