धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन स्थगित: अर्थ मन्त्रालयसँग ‘सेवा सुविधा’ बारे महत्त्वपूर्ण सहमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच आज बिहान भएको निर्णायक वार्ताले सुखद निकास पाएको छ । लामो समयदेखि जारी कर्मचारी आन्दोलन अन्त्य गर्दै सेवा-सुविधा खारेजीसम्बन्धी निर्णय पुनरावलोकन गर्ने महत्त्वपूर्ण सहमति भएको हो ।

आज बिहान करिब ८:३० बजे अर्थ मन्त्रालयमा सम्पन्न वार्तामा दुवै पक्षबीच बोर्डका कर्मचारीको सेवा सुविधा खारेजीसम्बन्धी निर्णयमाथि पुनर्विचार गर्ने सहमति जुटेको छ। यस सहमतिको मुख्य बुँदाअनुसार, अर्थ मन्त्रालयले उक्त निर्णयको पुनरावलोकन गर्नेछ भने कर्मचारीहरूले विगत ४८ दिनदेखि जारी आफ्नो आन्दोलन स्थगित गरी नियमित कार्यमा फर्कने भएका छन्।

यद्यपि, कर्मचारीहरूले लिखित सहमतिको प्रतिलिपि प्राप्त नभएसम्मका लागि दैनिक एक घण्टाको धर्ना कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय गरेका छन्। वार्ता टोलीमा अर्थ मन्त्रालयका तर्फबाट सम्बन्धित महाशाखा प्रमुख महेश आचार्य र मन्त्रालयका प्रतिनिधि उत्तमकुमार खत्री सहभागी थिए। धितोपत्र बोर्डका तर्फबाट दुवै कर्मचारी युनियनका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए ।

यस सहमतिसँगै आजदेखि धितोपत्र बोर्डका कर्मचारीहरू नियमित रूपमा आ-आफ्नो काममा फर्किएका छन्, जसले पूँजी बजारको नियमन र विकासमा देखिएको अवरोध हटेको छ। यो सहमति पूँजी बजारको स्थायित्व र सुशासनका लागि सकारात्मक कदम मानिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री