काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारको कुनै आधार नभएको टिप्पणी गरेका छन् । एमालेको शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘केपी ओलीसँग अन्तरसंवाद’ कार्यक्रममा सम्बोधन गर्दै उनले कार्की नेतृत्वको सरकारलाई ‘न त जराले टेकिएको, न त टुप्पोले आकाश छोएको, फेद न टुप्पोको आकाशबेली सरहको सरकार’ भनेका छन् ।
आन्तरिम सरकारलाई उनले अस्थिर र दिशाहीन भएको आरोप लगाउँदै भने, ‘यो सरकार न फेदमा अडिएको छ, न टुप्पोमा टेकेको-एक किसिमको आकाशबेलीझैं झुन्डिएको छ, न जरा छ न हाँगा।’
यस्तो असंवैधानिक सरकार नागरिकको अधिकार हनन गर्नमै लागिपरेको उनको दाबी छन् । ‘हामीजस्ता देशप्रति समर्पित मान्छेलाई पनि पासपोर्ट रोक्का गरेर डर देखाउने काम भइरहेको छ। यस्तो सरकारबाट जनताले के आशा गर्ने?’ उनले प्रश्न गरे ।
साथै उनले देश छाडेर नभाग्ने स्पष्ट पारेका छन् । उनले भने,’केपी ओली भागेर जान्छ भन्ने कसरी सोचेको होला ? मर्नु परे पनि यसै देशमा मर्छु । सुकरातले पनि भागेका थिएनन्, म किन भाग्ने ? त्यो समयमा सुकरातको कुनै राजनीतिक उद्देश्य थिएन, तर पनि उनले देश छोडेनन् । म त देशका लागि लड्ने जिम्मेवारीसहित यहाँ छु।’
उनले प्रश्न गरे, ‘मैले अस्ति नै भनेँ यो हाहुमा बनेको गैरजिम्मेवार कसैप्रति जिम्मेवार नभएको असंवैधानिक र अनुत्तरदायी सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ?’




