काठमाडौं । देशकै अग्रणी वाणिज्य बैंकहरूमध्येको एक ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानदार वित्तीय प्रदर्शन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, यस त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ, जुन २ अर्बको आँकडा नजिक हो । यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशतले बढी हो, जसले बैंकको वित्तीय सुदृढता र सञ्चालन कुशलतालाई स्पष्ट पार्छ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्षको उल्लेख्य वृद्धिले बैंकको व्यवसाय विस्तार र नाफा आर्जन क्षमतामा आएको गुणात्मक सुधारलाई संकेत गर्दछ।
बैंकको कुल सञ्चालन आम्दानीमा ५.३६ प्रतिशतको वृद्धि देखिएको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशतले बढेको छ । यो वृद्धि बैंकको कोर बैंकिङ गतिविधिहरूमा आएको सुधारको प्रतिविम्ब हो। यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानीमा २.६२ प्रतिशतको उत्साहजनक वृद्धि भएको छ। यसले बैंकको विविध आम्दानीका स्रोतहरू सबल बन्दै गएको देखाउँछ।
पहिलो त्रैमासको यस उत्कृष्ट मुनाफाले बैंकका लगानीकर्ताहरूका लागि पनि सुखद खबर ल्याएको छ। बैंकको प्रतिकित्ता लाभांश क्षमता २२ रुपैयाँ ९५ पैसा पुगेको छ, जसले आगामी दिनमा लगानीकर्ताहरूले आकर्षक प्रतिफल प्राप्त गर्ने सम्भावना बढाएको छ।




