गृहमन्त्री अर्यालको राजीनामाको मागमा युवा अभियन्ता विभाजित

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गृहमन्त्री अर्यालको राजीनामाको मागलाई अस्वीकार गर्दै काम र परिणाममा जोड दिएकी छन् । ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्रीको राजीनामा मागेलगत्तै बमले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

उनले आफूहरू नागरिक सरकारको पक्षमा रहेको र निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गर्दै, ‘गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ’ भनेर स्पष्ट पारेकी छन् । 

यता, ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले भने गृहमन्त्री अर्यालले तत्काल राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । उनले गृहमन्त्रीलाई ‘अलोकप्रिय’ को संज्ञा दिँदै सामाजिक सञ्जालमार्फत कडा सन्देश दिएका छन्। गुरुङले सहिदको रगत, नेपाल र नेपालीको आशा तथा काम गर्न नसके पद छोड्ने गृहमन्त्रीको विगतको वाचाको स्मरण गराएका छन् । दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको भन्दै उनले गृहमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।

गुरुङले गृहमन्त्री अर्याललाई प्रधानमन्त्री सुशीला कार्कीको प्रिय पात्र बनेर पदमा टिकिरहन खोजेको आरोप समेत लगाएका छन् । उनले दुई दिनपछि हुने एक प्रेस कन्फरेन्सले गृहमन्त्रीको राजनीतिक भविष्य निर्धारण गर्ने दाबी गर्दै कडा चेतावनी दिएका छन् । ‘यदि अझै पनि कुर्सीमा टाँसिएर बस्नुहुन्छ भने दुई दिनपछि हुने प्रेस कन्फरेन्सले तपाईँको राजनीतिक भविष्य निर्धारण गर्नेछ,’ गुरुङले भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री