काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बुधवारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा नेताहरूले समसामयिक राजनीति, भदौ २३ र २४ गतेको जेन जी आन्दोलनले पारेको प्रभाव, संसद पुनः स्थापना, राष्ट्रिय निर्वाचन र पार्टी अधिवेशन लगायतका महत्त्वपूर्ण विषयहरूमा आफ्ना धारणा राखिरहेका छन् ।
प्रवक्ता महतले बैठक अझै तीन दिन जति चल्ने अनुमान गरिएको बताए । “छलफल जारी छ । अझै तीन दिन जति लाग्छ । बैठकको अन्त्यमा निष्कर्ष निकाल्ने हो,” उनले भने ।
बैठकमा विशेष गरी पार्टीको आगामी महाधिवेशनका विषयमा गम्भीर छलफल भइरहेको छ । पदाधिकारीहरूको कार्यकाल सकिन लागेकाले विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशन नै उपयुक्त हुने आवाज बलियो रूपमा उठेको छ । नेताहरूले नियमित महाधिवेशन गर्दा नवयुवाको प्रतिनिधित्व सुनिश्चित हुने र यसले पार्टीलाई थप ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गरेका छन् ।
“हाम्रो कार्यकाल नै समाप्त हुँदैछ । नियमित महाधिवेशनबाट १५ औँ महाधिवेशन गर्नुपर्छ । नवयुवाको उपस्थिति पनि हुन्छ भन्ने हो,” महतले भने ।
बैठकमा निर्वाचनलाई मध्यनजर गर्दै कार्यपालिकाको भूमिका र पार्टीको रणनीतिबारे पनि फरक-फरक मतहरू आएको बुझिएको छ । प्रवक्ता महतले निर्वाचनलाई मध्यनजर गरेर उपयुक्त कार्यतालिका निकालिने र बैठकको अन्तिममा ठोस निष्कर्षमा पुगिने बताए ।
जेन जी आन्दोलनको प्रभाव र संसद पुनः स्थापना लगायतका राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण मोडहरूमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे पनि नेताहरूले आफ्ना विचारहरू प्रस्तुत गरिरहेका छन् । समग्रमा, काँग्रेस केन्द्रीय समिति बैठक पार्टीको भविष्यको दिशा निर्धारण गर्ने महत्त्वपूर्ण घडीका रूपमा हेरिएको छ ।




