- गिनिज बुढा
सामाजिक सञ्जालमा यतिबेला एउटा नयाँ ट्रेन्डले तरंग ल्याएको छ, जसले सिर्जना, प्रविधि र कपिराइटको सीमानाबारे गम्भीर बहस छेडिदिएको छ । च्याट जीपीटीको ‘प्रोम्प्ट’ प्रयोग गरी सामान्य तस्वीरलाई जापानको प्रसिद्ध स्टुडियो जिब्लीको मनमोहक एनिमेसन शैलीमा रूपान्तरण गर्न सकिने यो ट्रेन्ड भाइरल बनेको छ ।
जिब्ली स्टुडियो, जसका फिल्महरू ‘स्पिरिटेड अवे’, ‘द टेल अफ द प्रिन्सेस कागुया’ र ‘हौल्स मुभिङ क्यासल’ जस्ता उत्कृष्ट ह्यान्ड-ड्रन एनिमेसन र गहिरा भावनात्मक कथाहरूका लागि विश्वभर चिनिन्छन्, त्यसको अद्वितीय शैलीमा सिर्जित एआई-उत्पादित तस्वीरहरूले एकातिर प्रयोगकर्ताहरूलाई आकर्षित गरेको छ भने अर्कोतिर तीब्र आलोचना पनि खेपिरहेको छ ।
कलाकारको पीडा र एआईको ‘चोरी’
जुन कला शैलीलाई सिर्जना गर्न कलाकारहरूले वर्षौंको अनुभव, सीप र अथाह मिहिनेत खर्च गर्छन्, त्यही कलालाई एआईले केही सेकेन्डमै पुनरुत्पादन गरिदिँदा सिर्जनात्मक समुदायमा ठूलो चिन्ता बढेको छ । यो ट्रेन्ड भाइरल भएसँगै, स्टुडियो जिब्लीका सह-संस्थापक, महान निर्देशक हायाओ मियाजाकीको सन् २०१६ को एउटा भनाइ पुनः भाइरल भएको छ ।
एआईद्वारा सिर्जित डरलाग्दो एनिमेटेड पात्र देखेपछि उनले भनेका थिए, ‘म यो हेर्दा रमाइलो पाउँदिनँ । जसले यो सृजना गरेको छ, उसले पीडा के हो भनेर थाहा पाएको छैन । मलाई यो जीवनप्रतिको अपमान जस्तो लाग्छ ।’ मियाजाकीको यो भनाइले एआई-जनित कलाको नैतिक र भावनात्मक पक्षमाथि थप प्रश्न उठाएको छ ।
ओपन एआई र कपिराइट उल्लंघनको आरोप
यही सन्दर्भमा, जापानको कन्टेन्ट ओभरसिज डिस्ट्रिब्युसन एसोसिएसन (CODA), जसले स्टुडियो जिब्लीसहित धेरै प्रमुख जापानी सिर्जनाकर्ताहरूको प्रतिनिधित्व गर्छ, ले च्याट जीपीटीको निर्माता कम्पनी ओपन एआईलाई अक्टोबर २७ मा एउटा अनुरोध पत्र पठाएको छ । CODA ले ओपन एआईलाई कृत्रिम बौद्धिकता प्रणालीलाई तालिम दिन आफ्नो प्रतिलिपि अधिकार सामग्री प्रयोग नगर्न आग्रह गरेको छ ।
CODA को दाबी छ कि सेप्टेम्बर ३० मा ओपन एआईले सुरु गरेको ‘सोरा २’ (sora.chatgpt.com) अन्तर्गत उत्पादन गरिएका धेरै सामग्रीहरू जापानी उत्पादनका मौलिक सामग्रीहरूसँग मिल्दोजुल्दो छन् । संघले यस्तो ‘मेशिन लर्निङ’ प्रक्रियामा हुने नक्कललाई कपिराइटको गम्भीर उल्लंघन भनेको छ ।
सिर्जनाको भविष्यमाथि प्रश्न
एआई-जनित सिर्जनालाई अपनाउने र नअपनाउने दुई समूहमा विश्व विभाजित छ । एकातर्फ, यसलाई नयाँ सम्भावनाको रूपमा हेर्ने जमात छ भने अर्कोतर्फ, आफूलाई सिर्जनामा समर्पित गर्ने कलाकार र सिर्जनाकारहरूको ठूलो समूह एआई-जेनेरेटेड सिर्जनालाई वास्तविक कला मान्न तयार छैन ।
यस घटनाले प्रविधिको तीव्र विकाससँगै सिर्जनात्मक अधिकारको संरक्षण र नैतिकताका सवालहरूमाथि नयाँ बहस सुरु गरेको छ । कपिराइट कानूनहरूले एआई-जनित सामग्रीलाई कसरी सम्बोधन गर्नेछन् र मानव सिर्जनाको मौलिकतालाई कसरी परिभाषित गरिनेछ भन्ने प्रश्नहरू भविष्यमा झनै जटिल बन्ने निश्चित छ ।




