काठमाडौं । देशमा हालै भएको जेठ प्रदर्शनी र आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको आगजनी र तोडफोडबाट पुगेको ठूलो क्षतिप्रति संवेदनशील हुँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल सरकारद्वारा स्थापित “भौतिक पूर्वाधार पुनर्निर्माण कोष” मा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
लिमिटेडले सधैँ राष्ट्र र समुदायको आवश्यकतामा विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ। यसै सन्दर्भमा, भदौ २३ र २४ गते देशभर भएका जेठ प्रदर्शनी तथा आन्दोलनका कारण सार्वजनिक तथा सरकारी भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको थियो। यसबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारले उक्त कोषको स्थापना गरेको हो।
कम्पनीको सोही निर्णयअनुसार २५ लाख रुपैयाँको चेक आज एक औपचारिक कार्यक्रममा कम्पनीका सञ्चालक भरतबहादुर बस्नेत तथा प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले नेपाल सरकारका माननीय अर्थमन्त्री रामेश्वर खनालसमक्ष हस्तान्तरण गरे।




