- गिनिज बुढा
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिश्चियनहरूको हत्या नरोकेमा नाइजेरियामाथि आक्रमण गर्ने धम्की दिएका छन् । शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले नाइजेरियामा भएका क्रिश्चियनहरूको हत्याप्रति सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
यदि नाइजेरिया सरकारले क्रिश्चियनहरूको हत्या रोक्न नसकेमा संयुक्त राज्य अमेरिकाले नाइजेरियालाई दिने सहयोग तुरुन्तै बन्द गर्ने र सैन्य कारबाही समेत गर्ने चेतावनी उनले दिएका छन् । अमेरिकाका रक्षामन्त्री पीट हेगसेथले ट्रम्पको भनाइसँग सहमत हुँदै नाइजेरियामा इसाईहरूको हत्या रोकिनुपर्ने अन्यथा अमेरिकाको युद्ध विभागले कारबाहीको तयारी गरिरहेको कुरा जानकारी दिए ।
शनिबार नै यो धम्कीको उत्तरमा नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले आफ्नो वक्तव्य सार्वजनिक गरे । २०२३ देखि नै नाइजेरियाको प्रशासनले क्रिश्चियन र मुस्लिम नेताहरूसँग खुला र सक्रिय संलग्नता कायम गरेको र नाइजेरियाको धर्म र विश्वासको स्वतन्त्रताको रक्षा गर्न सरकारको निरन्तर प्रयास रहेको उनले बताए । नाइजेरियाले धार्मिक उत्पीडनको विरोध गर्ने र धार्मिक स्वतन्त्रता र सहिष्णुता त्यहाँको मुख्य सिद्धान्त रहेको उनको दाबी छ ।
टिनुबुका अनुसार नाइजेरिया सबै धर्मका समुदायहरूको संरक्षणमा समझदारी र सहयोगलाई गहिरो बनाउन अमेरिका सरकार र अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न प्रतिबद्ध छ ।
१४ अक्टोबरमा नाइजेरियाको प्लाटो प्रदेशमा फुलानी अतिवादीहरूद्वारा १३ जना क्रिश्चियन धर्मावलम्बीहरूको हत्या गरिएको थियो । त्यस्तै सेप्टेम्बर २३ मा इस्लामी आतंकवादी समूहमाथि घातक आक्रमण गरिएको थियो ।
नाइजेरियामा २०१९ देखि २०२३ सम्म झन्डै १७ हजार क्रिश्चियनहरू मारिएका र २०२५ मा नै ७००० पीडितहरूको रिपोर्ट दर्ता गरिएको तथ्याङ्क युरोपेली संसद्ले सार्वजनिक गरेको छ । जहाँ ७,८०० जनाको अपहरण समेत गरिएको थियो ।
बोको हराम जस्ता आतंकवादी समूहहरूले उत्तरपूर्वी नाइजेरियामा एक दशकभन्दा बढी समयदेखि विनाश गरिरहेका छन् । विश्वभरि राजनीतिक हिंसाको विश्लेषण गर्ने समूह एकलेडका अनुसार यीमध्ये धेरै मुस्लिम रहेका छन् ।
तथ्याङ्कलाई हेर्दा, केवल इसाईहरूलाई लक्षित पारेर नरसंहार भइरहेको भन्ने सोचाइ गलत रहेको नाइजेरियाका मानवीय कानुनविद् बुलामा बुकर्टीको भनाइ रहेको छ ।
अमन स्थापित नभएका कारण ट्रम्पले आक्रमणको चेतावनी दिइरहेको समयमा टिनुबु भने धार्मिक सहिष्णुताको रक्षाका लागि अमेरिकासँग सहकार्य गर्न तर्फ आशावादी देखिन्छन् ।




