काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै भेला सुरु भएको छ । महाधिवेशनको मिति तोक्न इतर पक्षले दबाब बढाउँदै जाँदा केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् ।
कांग्रस केन्द्रीय सदस्य नैनसिंह १५औं महाधिवेशनमा कुन तरिकाले जाने, निकास के होला भनेर छलफल गर्न लागिएको बताए । नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा जारी भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन माग गर्ने तयारी छ ।
केन्द्रीय सदस्य गुरू बरालले भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आह्वान गरिने उनले जानकारी दिए ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरूले फागुन २१ गते हुने निर्वाचनअघि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिएपछि कांग्रेस केन्द्रीय समितति बैठक रोकिएको छ ।




