काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा औपचारिक रूपमा विलय भएको छ।
सोमबार सार्वजनिक गरिएको सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, समाजवादी राज्यव्यवस्थाको सुदृढ कार्यान्वयन र दलाल नोकरशाही पुँजीवादी शासनको अन्त्यका लागि समाजवादी ध्रुवीकरण आवश्यक रहेको उल्लेख छ ।
सहमतिको पहिलो बुँदामा विगतका वैचारिक, राजनीतिक र साङ्गठनिक कमजोरीहरूको वस्तुनिष्ठ मूल्याङ्कन गर्न कार्यटोली गठन गरी त्यसलाई दस्तावेजीकरण गर्ने भनिएको छ । उक्त प्रक्रियाबाट वर्गीय तहमा नयाँ आधारमा एकता र रूपान्तरणको दिशा तय गरिने बताइएको छ।
दोस्रो बुँदामा गोपाल किरातीद्वारा विकसित ‘देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र’ विषयमा पार्टीभित्र गहन छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने उल्लेख गरिएको छ।
तेस्रो बुँदाअनुसार सहमति कार्यान्वयनका लागि गोपाल किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू माओवादी केन्द्रभित्र समाहित हुने निर्णय भएको छ। सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीका हस्ताक्षर छन्।
सहमति पश्चात् जारी संयुक्त अपिलमा देशभक्त, मजदुर, किसान, सुकुम्वासी, वित्तीय शोषणपीडित, जातीय तथा क्षेत्रीय समुदायसहितका जनसमुदायबीच समाजवादी ध्रुवीकरण विस्तार गर्दै राष्ट्रिय स्वाधीनता, अखण्डता र संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनमा एकताबद्ध हुन आह्वान गरिएको छ।




