काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक पुनः स्थगित भएको छ। पार्टीको आन्तरिक विवाद र महाधिवेशनको मिति तय गर्ने विषयमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो।
अर्को बैठक आगामी कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने बारेमा संस्थापन र संस्थापनइतर पक्षबीच सहमति हुन नसक्दा बैठक पटकपटक स्थगित हुँदै आएको छ। यसअघि पनि शुक्रबारको बैठक यसरी नै स्थगित गरिएको थियो।
काँग्रेसभित्र वर्तमान सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यसअगावै महाधिवेशन गर्ने विषयमा तीव्र बहस जारी छ। यस विषयमा दुई पक्षबीचको मतान्तरले बैठकको कार्यसूची निर्धारणमा समेत प्रभाव पारेको छ।
बैठकमा जेनजी आन्दोलन, आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका कारण पार्टी कार्यालय र नेताका निवासमा भएको क्षति, तिनको पुनःनिर्माण, विकसित राजनीतिक घटनाक्रम, पार्टीको १५औँ महाधिवेशन, प्रतिनिधिसभा विघटन र आगामी फागुन २१ को निर्वाचन, मुलुकको शान्ति सुरक्षा एवम् सुशासनको अवस्था सम्बन्धमा, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनःनिर्माण, कार्यसम्पादन समितिको निर्णय र अनुशासनसम्बन्धी व्यवस्थालगायतका विषयमा छलफल जारी रहने केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले जानकारी दिए।
गत असोज २८ गतेदेखि सुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।
गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका क्रममा सभापति देउवा दम्पती साङ्घातिक हमलामा परी गम्भीर घाइते भएका थिए। उनीहरू अहिले थप स्वास्थ्य उपचारका लागि सिङ्गापुरमा छन्। यसैबीच, पार्टीभित्रको आन्तरिक किचलो र नेतृत्वको अनुपस्थितिले काँग्रेसको आगामी रणनीति र महाधिवेशनको भविष्य अनिश्चित बनेको छ।




