काठमाडौं । काठमाडौँसहित देशका मध्य र पूर्वी भेगमा केही दिनयता जारी झरी अझै लम्बिएको छ । यसअघि बागमती, गण्डकी र तराईका जिल्लाहरूमा आज बिहानसम्म मौसम सफा हुने अनुमान गरिए पनि पछिल्लो मौसमी प्रणालीका कारण झरीले निरन्तरता पाएको हो ।
मौसमविद् उज्ज्वल उपाध्यायले मौसमी पूर्वानुमानका विभिन्न मोडेलहरूको संयुक्त अध्ययनबाट यी क्षेत्रमा झरी लम्बिएको जानकारी दिएका छन् । उपाध्यायका अनुसार मोन्था आँधी बिहीबारदेखि कमजोर भए पनि सोमबारदेखि सक्रिय रहेको पश्चिमी वायुसँग मिसिएर एउटा ठूलो संयुक्त प्रणाली बनेको छ । जसले नेपालको ठूलो भूभाग ढाकेको छ ।
यो प्रणाली हिजो रातिसम्म कोशी हुँदै बङ्गालको खाडीतर्फ सर्नुपर्ने भए पनि बङ्गालको खाडी नजिकै थाइल्याण्डको दक्षिणी भूभागमा बनेको र हाल बङ्गलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीले यसलाई उल्टो दिशामा (उत्तर-पश्चिम तर्फ) धकेलेको उनले बताए ।
यसैबीच, अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात-राजस्थान हुँदै उत्तर-पूर्वतर्फ बढिरहेको पनि उनले जानकारी दिए । अहिले नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायुको चाप परेका कारण वर्षा गराउने बादलको ठूलो हिस्सा अहिले गण्डकी, बागमती र कोशी प्रदेशमा ‘टसमस’ नगरी स्थिर बसेको र लगातार वर्षा गराइरहेको उनको भनाइ छ । हावामा जलवाष्पको मात्रा अत्यधिक भएकाले वर्षा रोकिएको बेला पनि शीत परे जस्तो मसिना पानीका कणहरू झरिरहेको उपाध्यायले बताए ।
अब के हुन्छ ?
यस्तो अवस्थामा हल्का झरी मात्रै पर्ने र ठूलो वर्षा नहुने मौसमविद् उपाध्यायले बताएका छन् । यस्तो अवस्थामा बाढीको जोखिम भने अत्यन्त न्यून हुने उनको भनाइ छ । धेरै प्रणालीहरू मिसिएको जटिल अवस्था भएकाले अब यो प्रणाली कतिबेर रहन्छ भन्न त्यति सजिलो भने नभएको उनले भने ।
तर, बादलको घनत्व घट्ने क्रममा रहेकाले अबको १२ घण्टामा मौसममा उल्लेख्य सुधार आउने सम्भावना रहेको उनले बताए । साँझसम्म वर्षा पूर्ण रूपमा रोकिने र भोलि बिहानैदेखि घाम लाग्ने सम्भावना भने धेरै रहेको उनको भनाइ छ ।




