चौधरी ग्रुपले नवलपरासीमा स्न्याक्स कारखाना स्थापना गर्ने, ५० करोड लगानी र ४०० रोजगारीको अवसर

नवलपरासी । राजनीतिक अस्थिरता, आर्थिक अनिश्चितता र निजी क्षेत्रले झेलिरहेको चुनौतीपूर्ण अवस्थाका बाबजुद चौधरी ग्रुपले नेपालको औद्योगिक क्षेत्रमा ठूलो लगानी भित्र्याएको छ। चौधरी ग्रुपको फास्ट मुभिङ कन्जुमर गुड्स (FMCG) कम्पनी सीजी फुड्सले भारतको ख्यातिप्राप्त स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको छ।

बुधबार आयोजित एक भव्य भूमिपूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा यस महत्वपूर्ण परियोजनाको शिलान्यास गरे। समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको समेत गरिमामय उपस्थिति थियो।

हालैका दिनमा जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठानहरूमाथि भएको आगजनी र तोडफोडको घटनाले ग्रुपलाई ठूलो क्षति पुर्‍याएको थियो। सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्र ध्वस्त पारिनुका साथै अध्यक्ष विनोद चौधरीको निजी निवासमा समेत आगजनी भएको थियो। ती घटनापछि ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालप्रतिको आफ्नो प्रतिबद्धतामा कमी नआउने र नयाँ सोचका साथ आर्थिक विकासमा अगाडि बढ्ने संकल्प सार्वजनिक गरेका थिए। उक्त घटनाको डेढ महिना बित्न नपाउँदै चौधरी ग्रुपले नेपालमा एक बहुराष्ट्रिय कम्पनीलाई भित्र्याएर आफ्नो संकल्पलाई व्यवहारमा उतारेको छ।

बिकाजीसँगको यस साझेदारीमार्फत भुजिया, नमकीन लगायत बिकाजीका अन्य लोकप्रिय स्न्याक्सहरू नेपालमै उत्पादन गरिनेछ। यस सहकार्यले नेपालको खाद्य उद्योगलाई नयाँ गति दिने, आयातमाथिको निर्भरता घटाउने र नेपाली उपभोक्ताहरूका लागि विश्वस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास दुवै कम्पनीले लिएका छन्। यस प्लान्टमा पहिलो चरणमा करिब ५० करोड रुपैयाँ लगानी हुनेछ भने करिब चार सय प्रत्यक्ष रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।

शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले भने, “नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जाको आवश्यकता रहेको यस महत्वपूर्ण घडीमा हामीले नेपालमा नयाँ क्षेत्रमा लगानी गर्दैछौं। यसले नेपालप्रति चौधरी ग्रुपको गहिरो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ।” उनले निराशाबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा यस लगानीले नयाँ आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरे।

यस प्लान्टको स्थापनाले स्थानीय रोजगारीमा नयाँ अवसरहरू सिर्जना गर्नुका साथै, प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा स्थानीय किसान र आपूर्तिकर्ताहरूलाई लाभ पुर्‍याउनेछ। साथै, नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउन यस पहलले सकारात्मक योगदान पुग्ने चौधरीले बताए।

नेपालको औद्योगिक विकासमा एउटा नयाँ आयाम थप्ने यस परियोजनाले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री