काठमाडौं । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत सर्वसाधारण यात्रु लक्षित निःशुल्क वाइफाइ (Free Wi-Fi) सेवा शुभारम्भ गरेको छ। कम्पनीले यो सेवा २०८२ कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुवात गरेको हो।
शुभारम्भ समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा सेवाको उद्घाटन गरे। पहिलो चरणमा सेवा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनका आगमन, प्रस्थान, सुरक्षा जाँच तथा प्रतिक्षालय क्षेत्रहरूमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
यो सेवा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) बीचको सम्झौताअनुसार सुरु गरिएको हो। सम्झौताअनुसार देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल र ३४ वटा आन्तरिक विमानस्थलहरूमा पनि क्रमशः यो सेवा विस्तार गरिने योजना छ।
निःशुल्क इन्टरनेट प्रयोग गर्न यात्रुले वाइफाइ नेटवर्क “NT Free Wi-Fi” चयन गरी निर्देशनअनुसार आवश्यक विवरण प्रविष्ट गरेपछि सजिलै इन्टरनेट प्रयोग गर्न सक्नेछन्। टेलिकमले यो पहलले यात्रुहरूको सहजता र डिजिटल पहुँचलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।




