काठमाडौं । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-६, चैनपुरमा भएको एउटा कार दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
मंगलबार बिहान विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका-१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेलको घटनास्थलमै मृत्यु भएको हो ।
कार चालक स्वयं अर्जेल नै रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा कारमा सवार अर्जेलकी ४९ वर्षीया श्रीमती सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन् । प्रहरीका अनुसार सुनिताको अवस्था गम्भीर रहेको छ भने निशान्तको अवस्था मध्यम रहेको छ ।
घाइतेहरूलाई तत्काल खाल्टेस्थित आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




