खराब मौसमले देशैभरि हवाई सेवा प्रभावित

काठमाडौँ । पछिल्लो समय मौसममा आएको प्रतिकूलताका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानहरू सामान्य रूपमा प्रभावित भएका छन् । कमजोर ‘भिजिबिलिटी’का कारण आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडानहरूमा ढिलाइ भएको छ ।

हाल अन्तरराष्ट्रिय उडानहरू केही समयदेखि ‘होल्ड’मा छन्, जसले गर्दा यात्रुहरूले प्रतीक्षा गर्नुपरेको छ। यसैगरी, हिमाली क्षेत्रका लुक्लाको तेञ्जिङ हिलारी र हुम्लाको सिमीकोटलगायतका विमानस्थलहरूमा पनि उडान तालिकामा सामान्य प्रभाव परेको छ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिनुभएअनुसार, खराब मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) अन्तर्गतका उडानहरू मात्रै सञ्चालनमा छन्। उहाँले केही उडानहरूमा ढिलाइ भए पनि कुनै पनि उडान रद्द गर्नुपर्ने अवस्था भने नरहेको स्पष्ट पार्नुभयो। निश्चित हवाई रुटमा उडान चाप बढ्दा केही असुविधा भएको छ।

मौसम विज्ञान विभागका अनुसार, हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ। यस प्रणालीको असरले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बादलले ढाकेको छ, जसले गर्दा मौसम चिसो महसुस गरिएको छ। मौसममा सुधार नआएसम्म उडान तालिकामा केही परिवर्तन हुन सक्ने भएकाले यात्रुहरूलाई आफ्नो उडानको जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री