प्रधानमन्त्री कार्कीद्वारा समाजसेवी अञ्जली मास्के सम्मानित

काठमाडौं । निःस्वार्थ सामाजिक सेवामा विगत २७ वर्षदेखि समर्पित ८२ वर्षीया समाजसेवी अञ्जली मास्केलाई प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा विशेष सम्मान गरेकी छन्। देशको सर्वोच्च पदमा आसिन महिला प्रधानमन्त्रीबाट भएको यो सम्मानले निःस्वार्थ सेवाको कदर मात्र नभई सम्पूर्ण समाजसेवाको भावनालाई उचाइ दिएको छ।

प्रधानमन्त्री कार्कीले मास्केलाई पछ्यौरा ओढाएर सम्मान व्यक्त गर्दै भनिन्, “तपाईंले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ। एकपटक भेट्ने इच्छा थियो, आज पूरा भयो। सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो।” उनले थपिन्, “यहाँलाई सम्मान गर्न पाउँदा हामी आफू पनि सम्मानित भएको महसुस भएको छ। यहाँको निःस्वार्थ भावनाबाट समाजमा सत्कार्यका लागि अरूलाई पनि प्रेरणा मिलिरहेको हामीले ठानेका छौँ।”

काठमाडौंको ताहाचल निवासी मास्के विशेषगरी दिदीबहिनी नभएका र भाइटीकाका दिन भेट्न नपाएका दाजुभाइहरूलाई टीका लगाइदिएर परिचित छिन्। यसका अतिरिक्त, उनले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि निःशुल्क खानपिनको व्यवस्थापन, र काष्ठमण्डपमा सामूहिक व्रतबन्धको आयोजना जस्ता थुप्रै सामाजिक कार्यहरू गर्दै आएकी छिन्। यी सबै कार्यहरू उनले आफ्नै निजी खर्चमा गर्दै आएको कुरा प्रधानमन्त्रीसमक्ष जानकारी गराइन्।

“मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ,” मास्केले प्रधानमन्त्रीसँगको भलाकुसारीमा भनिन्, “जे सक्छु, आफ्नै खर्चमा गर्छु। अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ।” उनले सरकारबाट पनि कुनै अपेक्षा नराखेको स्पष्ट पार्दै भनिन्, “मलाई केही चाहिएको छैन। हामीले आ-आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ। एकले अर्कालाई सघाउनुपर्छ। सबैले अरूको सेवा गरून्। सरकारसँग हामीले अपेक्षा राख्ने होइन, सरकारलाई हामीले सघाउनुपर्छ। अनि सरकारबाट देशको कल्याण हुन सक्छ।”

प्रधानमन्त्रीद्वारा मास्केलाई सम्मान
काठमाडौँ, १० कात्तिकः
प्रधानमन्त्री सुशीला कार्कीद्वारा सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याएबापत् अन्जली मास्केलाई सम्मानपश्चात् सामूहिक तस्बिरमा । काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिँदै आउनुभएको छ । तस्बिरः किरणराज विष्ट÷रासस

प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बनेकोमा आफू निकै खुसी र विश्वस्त भएको मास्केले बताइन्। “सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गर्नुभयो,” मास्केले भनिन्, “यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो। आज त्यो दिन देख्न पाइयो। एकदम खुसी र भरोसा लागेको छ। पहिलाजस्तै नडराइकन काम गर्नुहोला।”

उनले अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आएको भन्दै प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गरिन्। “यहाँ प्रधानमन्त्री हुँदा हामी सबै महिला सम्मानित भएको महसुस भएको छ। भेट्ने कत्रो इच्छा थियो, आज पूरा भयो,” मास्केले भनिन्।

यस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री