काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले प्रारम्भिक बजेट अनुमान सार्वजनिक गरेको छ । आयोगका अनुसार निर्वाचन सम्पन्न गर्न करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यद्यपि, बजेटको अन्तिम टुङ्गो लाग्न बाँकी रहेको र टुङ्गो लाग्नासाथ अर्थ मन्त्रालयमा पठाइने आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगले बजेट निर्माण प्रक्रियासँगै निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूको विस्तृत सूची पनि तयार पारिरहेको छ । सामग्री खरिदका साथै आकस्मिक खर्च व्यवस्थापनका लागि समेत केही रकम छुट्याउने तयारी गरिएको छ ।
यस पटकको निर्वाचनमा आयोगले विगतका अभ्यासलाई निरन्तरता दिँदै प्रत्येक एक हजार मतदाताका लागि एक मतदान केन्द्र स्थापना गर्ने योजना बनाएको छ । निर्वाचन व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन यो रणनीति अपनाइएको आयोगले जनाएको छ ।
अनुमानित खर्चमध्ये सबैभन्दा ठूलो हिस्सा जनशक्ति व्यवस्थापनमा खर्च हुने आयोगको भनाइ छ। प्रत्येक मतदान केन्द्रमा कम्तीमा १४ जना कर्मचारी परिचालन गर्नुपर्ने भएकाले त्यसका लागि ठूलो रकम विनियोजन गर्नुपर्ने देखिएको छ । निर्वाचनको निष्पक्षता र प्रभावकारिताका लागि दक्ष जनशक्ति परिचालन अपरिहार्य हुने आयोगले स्पष्ट पारेको छ ।




