महाधिवेशनको म्याद थप्ने खेल रोक्न कांग्रेसका विशेष महाधिवेशन पक्षधरको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागले तीव्रता पाएको छ । पार्टीका १४औं महाधिवेशनका २ हजार ४ सय ८८ प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन केन्द्रीय कार्यालयमा बुझाइएको सन्दर्भमा विशेष महाधिवेशन पक्षधरले आइतबार पत्रकार सम्मेलन गर्दै अविलम्ब महाधिवेशन हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले केन्द्रीय समितिको बैठक अस्वाभाविक रूपमा लम्ब्याएको भन्दै नेतृत्वको मनसाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ रहेको आरोप लगाए । महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीहरूसहित केन्द्रीय समितिको मनसाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताए । उनले वर्तमान केन्द्रीय समितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको बताए । कुनै पनि कारण देखाएर महाधिवेशन प्रतिनिधिहरूको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो ।

पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय समितिको असफलता नेपाली राजनीतिमा भएका घटनाहरूले पुष्टि गरेको आचार्यले जिकिर गरे। केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको उनको टिप्पणी थियो । आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको उनले स्पष्ट पारे । आफूहरूको मागप्रति गम्भीर रही महाधिवेशनतर्फ अग्रसर हुन उनले सचेत गराए । आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएको उनले बताए । केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महसुस आफूहरूले गरेको पनि आचार्यले बताए । विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष, स्वाभाविक आवश्यकताको रूपमा महसुस गरी कार्यान्वयनतर्फ अघि बढ्न उनले माग गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले भदौ २३ र २४ का तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरू नभएको बताए । उनले आगजनी र तोडफोड, लुटपाटका क्रियाकलापहरु निन्दनीय रहेको बताए। मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने उनले बताए । २०४६ साल यता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा आफूहरूबाट पनि कमजोरी भएको कुरा महसुस गर्न जरुरी रहेको उनको भनाइ थियो ।

घिमिरेले भने, ‘भदौ २३ र २४ का घटनाहरूले हामीलाई सधैँ बिझाइरहनेछ। तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर हामी होइनौँ । ती क्रियाकलापहरु निन्दनीय छन् । त्यो घटनाले विश्व राजनीतिमा मानक खडा गरेको छ। अब कसरी जाने भन्ने छलफल गरेका छौँ। मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्छ । नेतृत्व बदल्नैपर्छ । २०४६ साल यता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भयो कि? यो भदौ २३ र २४ को घटनासम्म आइपुग्दा हाम्रा यी कमजोरीहरू कारक छन् कि ।’

गत असोज २९ गते नेपाली कांग्रेसका केन्द्रीय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४औं महाधिवेशनका २ हजार ४ सय ८८ प्रतिनिधिहरूले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए । बदलिँदो राजनीतिक परिवेशलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विधानको धारा १७ (२) बमोजिम महाधिवेशनको माग गरेको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री